सिद्धबाबाको करामतः प्रचण्डलाई भैंसी पुजाए, माधव नेपाललाई होम गराए

सिद्धबाबाको करामतः प्रचण्डलाई भैंसी पुजाए, माधव नेपाललाई होम गराए

काठमाडौँ । एक युवतीमाथि बलात्कार गरेको अभियोगमा ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी प्रहरी नियन्त्रणमा छन् । प्रहरी निगरानीमै हाल उनी विराटनगरस्थित विराट नर्सिङ होमको आईसीयू कक्षमा उपचार गराइरहेका छन् ।

बलात्कार आरोपमा ‘सिद्धबाबाबा’ आईसीयूबाटै गिरफ्तार

गिरीले गत ४ कात्तिकमा एक युवतीलाई बलात्कार गरेको भन्दै उनकै अनुयायीले काठमाडौंसम्म आएर किटानी दिएपछि उनी प्रहरी नियन्त्रणमा छन् ।

भण्डारी थरकी एक युवतीमाथि बलात्कार गरेको अभियोगमा सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेपछि उनलाई सुनसरीको चतारास्थित आश्रमबाट नियन्त्रणमा लिइएको थियो ।

उता, सिद्धबाबाविरुद्ध जाहेरीकर्ता महिलाले लामो समयदेखि एसएमएस पठाउने गरेको खुलेको छ । उनले बाबालाई हालसम्म ५२ वटा मोबाइल एसएमएस पठाएको पाइएको छ ।

उनले एसएमएसमा बाबाप्रति आशक्ति देखाएको देखिन्छ । बाबाले भने उनको एसएमएसको कुनै प्रतिक्रिया जनाएका छैनन् ।

‘बाबा हजुरको म भक्त हुँ । हजुरलाई म चाहेको कुरा पूरा गर्दिन्छु । हजुरसँग भेटेर प्यास मेट्न चाहन्छु । हजुर किन रिसाइसिन्छ’ जस्ता विभिन्न शब्द प्रयोग गरेर एसएमएस पठाएकी छन् ।

यो त कानुनी कुरा भयो । कानुनी प्रक्रियामा गएपछि त्यसको छिनोफानो कानुनी आधारमा त्यसका निश्चित विधि र प्रक्रियाबाट निरूपण हुने कुरा भयो ।

सन्दर्भ सिद्धबाबासँग जोडिएका हाम्रा ‘आदर्श’ नेतृत्वको हो ।

हाम्रा राजनीतिक दल (धेरैजसो)का प्रमुख नेताहरूमा धर्म, ईश्वर र अध्यात्म अनि भाग्यमा कतिसम्म विश्वास छ भने हरेकजसो राजनीतिक दलका नेता कहिले कुनै ‘बाबा’का पछि लागिरहेका हुन्छन् त कहिले कुनै ‘महान्’ ज्योतिषकहाँ जन्म कुण्डली बोकेर धाइरहेका हुन्छन् ।

यसरी धाउनेहरूमा विगतका ‘आमूल’ परिवर्तनका पक्षधर अर्थात् ‘धर्म अफिम हो’ भनेर वर्षौंसम्म सिधा जनताको बुद्धि ‘भुटेर’, हजारौं मान्छेलाई अनाहकमा बलिवेदीमा चढाएर, खर्बौं रुपैयाँ बराबरको सम्पति स्वाहा पारेर सत्तामा पुगेकाहरूसमेत छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), डा. बाबुराम भट्टराईदेखि ‘नौलो जनवाद’का अनुयायी, भौतिकवादका पक्षपोषकहरू धेरै यस्ता ‘अफिम’ र ‘अन्धविश्वास’का पछाडि लागिरहेका देखिन्छन् ।

कहिले कमल नयनाचार्यका ठूला ‘अनुयायी’का रूपमा यी नेता चर्चामा आउँछन् त कहिले सिद्धबाबाका अनुयायीका रूपमा । तर, रमाइलो के छ भने, यी जो जसका अनुयायी वा भक्त बनेर चर्चामा आउँछन्, ती ‘बाबा’ वा ‘सन्त’हरू भने अनैतिकता, भ्रष्टाचार र अनियमितताको दलदलमा फसिरहेका हुन्छन् ।

केही समयअघि प्रचण्डले आदर्श मान्ने कमल नयनाचार्य सरकारी जमिन हडपेका कारण विवादमा आए । उक्त विवाद अझै समाधान भइसकेको छैन ।

विगतमा प्रचण्डलाई ग्रह दशा कटाउन भैंसी पूजाको सल्लाह दिने र भैंसी पूजा गराउने चतराका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी अहिले एक युवतीमाथि बलात्कारको अभियोगमा थुनामा छन् ।

किन हुन्छ यस्तो ?

उनै सिद्धबाबाले केही समयअघि पोखरास्थित एक घरभित्र नाै दिनसम्म बिनाअक्सिजन समाधिमा बसेका भन्दै उनको चर्चा व्यापक बनेको थियो ।

चिकित्सकले ३ मिनेटभन्दा बढी अक्सिजनबिना मान्छे बाँच्नु विज्ञानका लागि नै चुनौती भएको बताइरहेका बेला सिद्धबाबाले भने ९ दिन बिनाअक्सिजन समाधिमा बसेको दाबी गरे ।

त्यसपछि त मन्त्री, पूर्वमन्त्री, प्रशासक, नेता, सामाजिक अभियन्ता, विभिन्न पेसाकर्मी, व्यवसायी आदि सबै सिद्धबाबाको पछाडि लागे ।

नाै दिनसम्म बिनाअक्सिजन प्लास्टिकले बेरिएको बन्द बाकसभित्र बसेको व्यक्ति जिउँदै हुनु साँच्चै अनौठो नै थियो । यद्यपि, त्यसको खोज, अनुसन्धानतिर कोही लागेन । सिद्धबाबाले भने वाहवाही पाइरहे, भलै त्यो सत्य होस् वा झुट ।

यसपछि सिद्धबाबाको जयजयकार गर्दै पोखरामा रथारोहण नै गरियो ।

उता, यसरी सम्मान र वाहवाही पाइरहेका सिद्धबाबा सुनसरीमा गैरकानुनी काममा संलग्न भएको आरोप लागिरहेकै थियो ।

को हुन् सिद्धबाबा ?

सुनसरीको चतारामा बस्दै आएका कृष्णदास महाराज अथवा सिद्धबाबा सोलुखुम्बु जुबुका कृष्णबहादुर गिरी हुन् । उनी दोहोरो नागरिकता र जडीबुटीको अवैध कारोबारमा संलग्न रहेको आरोप खेपिरहेका छन् । चतारामा ‘कृष्णदास महाराज’ भनेर चिनिने उनी पोखरा पुगेर अचानक ‘सिद्धबाबा’ कहलिए ।

गिरीले दोहोरो नागरिकता लिएर अवैध काम गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी नै परेको थियो । कृष्णदास भनिने कृष्णबहादुर गिरीले नाम, जन्ममिति र स्थायी बसोबासको विवरण फरक–फरक लेखाएर सोलुखुम्बु र सुनसरीबाट दुईवटा नागरिकता लिएर कारोबार गर्ने गरेको आरोप पुष्टि भए जेल जानुपर्ने डरमा थिए उनी ।

यसलाई प्रभावित पार्न उनले बिनाअक्सिजनको समाधिलगायतका अनेक तिकडम गरेको आलोचकहरूले बताएका थिए ।

प्रचण्डको भैंसी पूजा, बाबुरामको मनकामना दर्शन

१० वर्षसम्म राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणका लागि सशस्त्र युद्ध लडेर आएका तत्कालीन माओवादीका दुई प्रमुख नेता पुष्पकमल दाहाल (प्रचण्ड) र डा. बाबुराम भट्टराई कोही भैंसी पूजा त कोही ‘बुबाको इच्छा पूरा गर्ने’ बहानामा मनकामना मन्दिर धाउनतिर लागे । पछि त यस्तो भयो कि उनै विगतका ‘आमूल परिवर्तनकारी’हरू ‘परम्परावादी’भन्दा चर्को ‘रुढीवादी’मा रूपान्तर भए ।

उसो त प्रचण्डले ‘साइत हेरेर प्रधानमन्त्रीको उम्मेदवारी दिएको’ तथा प्रधानमन्त्री भएपछि ‘साइत हेरेरै बालुवाटार सरेको’ खबर पनि चर्चामै रहे ।

अहिले कुनै पनि सांस्कृतिक, धार्मिक संस्कार, रीति वा चाडपर्वका बेला सामाजिक सञ्जालमा उनै क्रान्तिकारीका तस्वीरहरू ‘भाइरल’ भइरहेका हुन्छन्– तीजमा नाचेकादेखि तिहारमा टीका थापेकासम्म ।

उनै बालसन्त, कृष्णदास महाराज वा सिद्धबाबाको क्षेत्र चताराधाममा हुने हरेक क्रियाकलापमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म, नेतादेखि व्यापारीसम्म सबै पुगेर दर्शन गर्नुका साथै संघ, प्रदेश र स्थानीय सरकारले समेत प्रशस्त साधन–स्रोतसमेत खर्च गर्नुले हाम्रो राजनीतिक नेतृत्व कतिसम्म अन्धविश्वासमा विश्वास गर्छ वा कतिसम्म रुढिवादी छ भन्ने पुष्टि हुन्छ ।

बराहक्षेत्र र बराहक्षेत्रको प्राचीन हरिद्वार चताराधाममा केही समयअघि भएको श्रीराम तारकब्रह्म महायज्ञमा नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पुगे ।

नेता नेपाल महायज्ञमा सहभागी भए । पूजा अर्चना तथा होम गरे ।

पीठाधीश महायोगी सिद्धबाबा कृष्णदास महाराजसँग नेपालले नेपालमा हरित क्रान्तिको सुरुवात चतराधामबाट भएको भन्दै तारकब्रह्म महायज्ञले धार्मिक पर्यटनमा ठूलो टेवा दिने बताए ।

उता, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि कृष्ण सिटौला, सुजाता कोइरालासम्म उनै सिद्धबाबाका ‘अनुयायी’ र ‘भक्त’ बने ।

तर, उनीहरूको विश्वास र आस्थामा अचानक चोट लागेको छ– उनै सिद्धबाबा वा आदर्श पुरुष कृष्णदास महाराज यसै साता बलात्कारजस्तो जघन्य अपराधको आरोपमा पक्राउ परेका छन् ।

प्रतिक्रिया