अछाममा छाउगोठ मृत्यु प्रकरण : पार्वतीका जेठाजु पक्राउ

अछाममा छाउगोठ मृत्यु प्रकरण : पार्वतीका जेठाजु पक्राउ

फाइल तस्बिर।

अछाम मंसिर १९ गते । छाउ बार्न गोठमा बसेकी साँफेबगर नगरपालिका–३ सिद्वेश्वर निवासी २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु प्रकरणमा प्रहरीले उनका जेठाजु छत्र रावतलाई बिहीबार पक्राउ गरेको छ । रावतलाई सोधपुछका लागि मंगलसेन बोलाएर प्रहरीले बिहीबार पक्राउ गरेको हो । पार्वतीको आइतबार राति छाउगोठमा मृत्यु भएको थियो ।
छाउपडी प्रथालाई कानुनी अपराध मानेपछि पक्राउ पर्ने छत्र पहिलो व्यक्ति बनेका छन् । ‘सिडियो साब र म बसेर कानुनी प्रक्रिया अगाडि बढाएका छौं,’ अछाम प्रहरी प्रमुखडिएसपी जनकबहादुर शाहीले भने, ‘मृृतकका जेठाजुले छाउगोठमा बस्न बाध्य पारे नपारेको विषयमा अनुसन्धान गरिरहेका छौं । यदी बस्न पार्न बाध्य पारिएको भए त्यही अनुसार कारबाही हुन्छ ।’
श्रीमान्, सासु, ससुरा कामको लागि भारत गएकाले पार्वती जेठाजु जेठानीसँग बस्दै आएकी थिइन । प्रहरीले छाउ गोठमा बस्न बाध्य पार्ने अरु कोही भएपनि प्रक्राउ गर्ने जनाएको छ । छाउगोठमा यसअघि धेरै महिलाको मृत्यु हुने गरेको भएपनि अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरको थिएन् ।
पार्वतीसहित पछिल्लो दश वर्षमा अछाममा महिनावारी भएको बेला छाउगोठमै ज्यान गुमाउने महिलाको संख्या १४ पुगेको छ । प्रहरीका अनुसार अधिकांशको निसास्सिएर, सर्पले टोकेर र आगोले पोलेर मृत्यु हुने गरेको छ । कानुनमा महिलालाई महिनावारी भएकै कारण छाउगोठ पठाए वा अन्य विभेद गरे ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया