कालापहाड छाडेर गाउँमै तरकारी खेती

कालापहाड छाडेर गाउँमै तरकारी खेती

सिचाई सुविधाले आलीबासी हर्षित, हट्यो कर्णाली नदिको पानी खानुपर्ने बाध्यता

अछामको पञ्चदेवल बिनायक नगरपालिका –४ आलिगाउँ

श्याम बिसी ।
दैलेख मंसिर २१ ।
अछामको पञ्चदेवल बिनायक नगरपालिका –४ आलिगाउँका महासिहं भुल केही बर्ष अघिसम्म मजदुरीका लागी भारत धाउँथे । गाउँमा सामान्य खेती गर्ने उनको खेतमा परम्परागत रुपमा गरिने सामान्य अन्नबालीले बर्षभरी गर्जो टार्न नुपग्ने भएपछि उनलाई भारत कुद्नु पर्दथ्यो । पछिल्ला केही बर्षमा भने उनि मजदुरीका लागी भारत गएका छैनन् । महासिहं मात्र होइन सो गाउँका अधिकाशं युवाहरुको मुख्य आर्थिक उपार्जनको श्रोत भनेकै भारतमा गरिने मजदुरी हो । तर, अहिले यहाँका युवाहरुलाई भारत जानुपर्ने बाध्यता हटेको छ । अहिले उनिहरुले गाउँमै आ–आफ्ना जग्गा जमिनहरुमा तरकारी खेती सुरु गरेका छन् ।
पहिले भारत गएर अरुको मजदुरी गर्नुपर्ने बाध्यता हटेपछि महासिहंको दैनिकीमा निकै परिवर्तन आएको छ । उनि अहिले दैनिक जसो आफ्नो गाउँ नजिक रहेको दैलेखको आठबिस नगरपालिकामा पर्ने राकमकर्णाली बजारमा तरकारी ल्याएर बिक्री बितरण गर्न आउछन् । ‘पहिले अरुको ठाउँमा गएर काम गर्नुमा र आफ्नै माटोमा पसिना बगाउनुमा निकै फरक छ, अहिले र पहिलेको तुलना गर्न पनी सकिदैन्,’ उनि भन्छन् ‘अर्काको देशमा अर्काको मजदुरी गरेर घरखर्च चलाउने म अहिले आफ्नै परिवारसगँ बसेर काम गर्न पाएको छु, घरपरिवार तथा छरछिमेक सबैसगँ दुख सुख साट्न पाईएको छु, यहि नै ठिक छ ।’
डिसिए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखद्धारा सञ्चालित साकार परियोजना मार्फत बिभिन्न कृषि सामाग्री तथा अन्य सहयोगहरु प्राप्त गरेपछि महासिहं मात्र नभएर आली गाउँका प्रत्येक नागरिकहरु व्यवसायिक कृषितर्फ आकर्षित हुन थालेका छन् । सोही गाउँका तुलबिर नेपालीले पनी आफ्नै बारिमा लटरम्म पारेर टमाटर फलाएका छन् । बेसिजनमा उत्पादन गरेको उनको टमाटरले बजारमा राम्रै मुल्य पाएको छ । उनको घरपरिवारमा रहेका सबै सदस्यहरु बिहान बेलुकाको फुर्सदिलो समय तरकारी बारीमा प्रयोग गर्दछन् । ‘पहिले गाउँमा बस्न पाईदैन्थो, घर आयर खेती लगाएका केही दिनमै मुग्लान पुग्नुपथ्र्यो, अहिले हामीलाई निकै सहज भएको छ ।’ तुलबिर भन्छन् ‘परदेशबाट कमाएर घर पुग्यो भने घरमा परिवारका सदस्यहरुले गरेको खर्चको ऋण तिरेर नसकिदै फेरी जानुपर्ने बाध्यता थियो, अहिले भने सबै परिवारले मेहनत गर्दछौ खर्चपनी सबैलाई पुगेको छ ।’
हट्यो कर्णालीको पानी पिउनुपर्ने बाध्यता, गाउँमै सिचाई सुविधा
६३ बर्षिय बृद्धा सितारा भुललाई कर्णालीको पानी पिउन छुट्ला भन्ने लागेकै थिएन् । आफ्नै आगनमा प्रशोधन गरिएको शुद्ध पानी पुगेपछि सिताराको खुशीको सिमा रहेन् । ‘कयौँ बर्षदेखी यहि पानी खादै बाचिँयो, यहि पानी खायरै मनुपर्छ जस्तो लागेको थियो, गाउँमै पानी पुग्यो अबका सन्ततीलाई धेरै सजिलो हुने भयो ।’ गाउँको मुनी रहेको कर्णाली नदि तिर ईसारा गर्दै उनले थपिन् । ‘अहिले त सबैले तरकारी लगाएका छन्, खानेपानी पाएका छन्, पहिले यस्तो कहाँ हुनु ?’
आली गाउँमा करि ८५ भन्दा बढि घरधुरीको बसोबास रहेको छ । सो गाउँका सबै नागरिकहरुलाई आजभन्दा दुई बर्ष अघिसम्म कर्णाली नदिको पानी पिउनुपर्ने बाध्यता थियो । कर्णालीको दुषित पानी प्रयोग गरेका कारण बिभिन्न रोगको संक्रमण भएर कति नागरिकहरुले त ज्यान पनी गुमाए । तर अहिले आली गाउँका हरेक नागरिकहरुको घर आसपासमा पशोधित शुद्ध पानी पुगेको छ । साकार परियोजना अन्र्तगत सोसेक नेपालको झण्डै १६ लाख लगानी र पञ्चदेवल बिनायक नगरपालिकाको समन्वयमा उक्त गाउँमा झण्डै २ सय मिटर टाढाबाट सिञ्चाई कुलो ल्याईएको छ । गाउँका अधिकाशं नागरिक सो सिचाई कुलोको प्रयोग गरेर तरकारी उत्पादनलाई व्यवसायिक बनाईरहेका छन् भने सोही पानीले हाईड्रोलिक ¥याम्पपम्प प्रविधी मार्फत प्रशोधन गरिएको छ । सबै घरधुरीलाई सहज हुने गरि धारा निर्माण गरि धारामा पानी पठाईएको छ ।
कृषिमा नमुना गाउँ बनाउने लक्ष
आली गाउँमा पहिलेको तुलनामा निकै परिवर्तन भईसकेको छ । भारतमा मजदुरी गर्नै पर्ने बाध्यता भएका कयौँ युवाहरु अहिले गाउँमै पसिना बगाईरहेका छन् । साकार परियोजना मार्फत प्राप्त सहयोगले कतिले कुखुरा पालन गरेका छन् भने कति गाउँमा व्यवसाय पनी सुरु गरेका छन् । अब भने सो गाउँलाई नमुना गाउँको मोडल मार्फत बिकास गर्ने आफुहरुको योजना रहेको सोसेकद्धारा सञ्चालित साकार परियोजनाका संयोजक माधव भट्टटराई बताउछन् । परियोजना मार्फत सो गाउँमा खानेपानी, सिचाई कुलो लगायतका सुविधा पुगेपछि नागरिकहरु पनी उत्साहित भएको उनको भनाई छ । ‘हामीले गाउँलाई नुमना गाउँको मोडलमा सहयोग गरिरहेका छौँ, अझ यहाँ धेरै काम गर्न बाँकी छ, पहिले घरमै खाने साग नलगाउने यहाँका नागरिकहरु अहिले एका बिहानै तरकारी बेच्न जान्छन्, यिनै कुराहरुकोे निरन्तरता र उनिहरुलाई अझ व्यवसायिक बनाउन हामी लागी रहेका छौँ,’ भट्टटराईले भने ।

प्रतिक्रिया