चार हजार विद्यार्थीलाई झोला उपहार

चार हजार विद्यार्थीलाई झोला उपहार

चामुण्डा (दैलेख) मंसिर २१ ।
रुपान्तरण नेपालले दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका विद्यार्थीलाई जापानी झोल वितरण गरेको छ । शनिबार चामुण्डा क्याम्पसमा आयोजनागरी रूपान्तरण नेपालले यूएण्डमी नेपाल–जापानको सहयोग र चामुण्डाविन्द्रासैनी नगरपालिकाको समन्वयमा नगरपालिकाका सामुदायिक विद्यालयका ४ देखि ८ कक्षासम्म अध्ययनरत विद्यार्थीहलाई झोला उपहार स्वरूप वितरण गरिरहेको हो ।
‘जापानी झोला सहयोग कार्यक्रम’ अन्तर्गत ४ हजार विद्यार्थीलाई झोला वितरण गरिएको हो । झोला नभएकै कारणले कोही बालबालिका विद्यालय जानबाट बञ्चित नहुन भन्ने उदेश्यले झोला वितरण गरेको आयोजकले जनाएको छ ।
झोला वितरणका अबसरमा कर्णाली प्रदेशका योजना आयोगका सदस्य योगेन्द्र शाहीले चामुण्डाविन्द्रासेनी नगरपालिकाका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई सात समुन्द्र पारीबाट झोला पठाइएको भन्दै प्रसंशा गरे । कर्णाली समृद्धिका लागि शिक्षामा विशेष जोडदिनुपर्ने उनको भनाई छ । ‘जबसम्म शिक्षालाई गुणस्तरीय बनाउदैनौँ, ‘तबसम्म विकासले तिव्र गति लिदैन, विकासलाई तिव्र गतिमा अघि बढाउन शिक्षालाई नै प्रथामिकता राख्नु पर्छ,’ उनले भने ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले शिक्षालाई गुणस्तरीय बनाउन सबै जिम्मेवार हुनुपर्नेमा जोडदिए । ‘राज्य एक्लै जिम्मेवार भएर शिक्षा गुणस्तरमा सुधार हँुदैन, शिक्षालाई गुणस्तरीय बनाउन अभिभावक र विद्यार्थी र विद्यालय व्यवस्थापन समिति जिम्मेवार हुनुपर्छ,’ उनले भने ।
उप–प्रमुख ताराकुमारी शाही –खत्री)ले सम्पूर्ण विद्यार्थीलाई समेट्ने गरी जापानबाट बालबालिकाका लागि झोला उपलब्ध गराएकोमा रूपान्तरण नेपाल र युएण्डमी नेपाल–जापानलाई धन्यवाद ज्ञापन गरिन् ।
रूपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले कर्णाली प्रदेश प्राकृतिक स्रोत साधनले सम्पन्न भएता पनि दक्ष जनशक्ति विकासमा निकै पछाडि रहेकाले गुणस्तरीय शिक्षामा संस्थाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया