शैक्षिक गुणस्तर सुधार्न प्रधानाध्यापक सम्मेलन

शैक्षिक गुणस्तर सुधार्न प्रधानाध्यापक सम्मेलन

सुर्खेत पुस १- सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार र विद्यालय प्रशासनको भूमिका प्रभावकारी बनाउन वीरेन्द्रनगरमा तीन प्रदेशका प्रधानाध्यापकको सम्मेलन आयोजना गरिएको छ । भेलामार्फत शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापकले आवश्यक कार्ययोजना निर्माण गरेका छन् ।

विद्यालय प्रशासनको नेतृत्व थप प्रभावकारी बनाउन कर्णाली, सुदूरपश्चिम र ५ नम्बर प्रदेशका प्रधानाध्यापकलाई जुटाइएको हो । सुदूरपश्चिम प्रदेशको अछाम र बाजुरा, कर्णाली प्रदेशको कालीकोट, दैलेख, जाजरकोट, सुर्खेत तथा प्रदेश ५ का बाँके र रोल्पाका प्रअको सम्मेलनले वीरेन्द्रनगर घोषणापत्र जारी गर्यो । घोषणापत्रमा राष्ट्रिय शिक्षा नीति २०७६, अनुसार बाल विकासदेखि कक्षा ८ सम्म अनिवार्य तथा निःशुल्क र माध्यमिक तह निःशुल्क बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता गरिएको छ । प्रतिबद्धताअनुसार विद्यालय सेवा क्षेत्रका विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिकालाई स्थानीय सरकारको समन्वय र सहकार्यमा विद्यालय पहुँच सुनिश्चित गरिने जनाइएको छ ।

त्यस्तै विद्यार्थी र शिक्षकको मासिक हाजिरी परीक्षणलाई प्रभावकारी बनाउने तथा अभिभावकसँग सम्बन्ध स्थापित गरी बालबालिकाको भर्ना, निरन्तरता र घरमा पढ्ने वातावरण सुनिश्चित गराउन पहल गर्ने प्रतिवद्धता गरिएको हो । घोषणपत्रमा सिकाइमा पछाडि परेका बालबालिकाका लागि सुधारात्मक कक्षा सञ्चालन गर्ने, विद्यालयलाई बालमैत्री, अपांगमैत्री र लैगिंकमैत्री बनाउने जनाइएको छ । विद्यालय क्षेत्रलाई मद्यपान, लागूपदार्थ र सुर्तीजन्य वस्तु निषेधित क्षेत्र बनाउनसमेत प्रधानाध्यापकले बाचा गरेका छन् ।

तीन प्रदेशका ८५ प्रधानाध्यापकको भेलाले सामुदायिक विद्यालयको आगामी बाटो तय गरेको आयोजक सेभ द चिल्ड्रेनले जनाएको छ । सेभ द चिल्ड्रेन, कर्णाली प्रदेशका शिक्षा प्रबन्धक आत्मराम भट्टराईले राज्यको संरचना परिवर्तनपछि फेरिएका निती नियमको जानकारी गराइ विद्यालय प्रशासन सुधार्न कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार प्रधानाध्यापकसहित स्थानीय सरकारका शिक्षा तथा युवा शाखा प्रमुखलाई पनि कार्यक्रममा सहभागी गराइएको थियो । सम्मेलनमा गरिएको प्रतिवद्धता अनुसारको काम भएरनभएकोबारे आगामी दिनमा सर्वपक्षीय टोलीले अनुगमन गर्ने उनले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर बिकेले प्रधानाध्यापक नै विद्यालय सुधारको खम्बा भएकाले सामुदायिकमा विद्यार्थी आकर्षण बढाउन खोजिएको बताए । उनले शैक्षिक गुणस्तर सुधारका लागि सम्मेलनले कार्ययोजना बनाएको र सरोकारवाला निकायको उपस्थितिमा त्यसलाई कार्यान्वयनमा लगिने जनाए । शिक्षा विकास निर्देशनालयका निर्देशक भक्तबहादुर ढकालले विद्यालय र स्थानीय सरकारबीच साझेदारी गरी शैक्षिक गुणस्तर सुधार्न सम्मेलन गरिएको जानकारी दिए । उनले सामुदायिक विद्यालयका चुनौतीको सामना गर्न सम्मेलनले आवश्यक कार्ययोजना बनाएको जनाए ।

शिक्षाविद् मनप्रसाद वाग्लेले विद्यालय र स्थानीय तहसँगको समन्वयलाई प्रभावकारी बनाउन जरुरी रहेको बताए । ‘विद्यालयले तीनवटै सरकारका कानुन कार्यान्वयन गर्ने भएकाले स्थानीय तह र विद्यालयबीचको सम्बन्ध अझ घनिभूत बनाउन जरुरी छ,’ उनले भने, ‘एक विद्यालयले गरेका राम्रा अभ्यासलाई अरु विद्यालयले सिक्ने र सिकाउने अवसरको सम्मेलनमार्फत सदुपयोग गर्न खोजिएको हो ।’ ज्योति कटुवाल/कान्तिपुर

प्रतिक्रिया