विविध क्षेत्रमा युवा परिचालन गरिँदै

विविध क्षेत्रमा युवा परिचालन गरिँदै

काठमाडौँ, पुस १० गते । युवा परिचालन वर्ष सञ्चालनका लागि आठ क्षेत्रका युवा सम्मिलित राष्ट्रिय युवा सञ्जाल गठन हुन लागेको छ । सरकारले यस वर्षलाई युवा परिचालन वर्ष घोषणा गरेको छ ।
राष्ट्रिय युवा परिषद्मार्फत परिचालन वर्षलाई लक्षित गरी युवा सञ्जाल गठन गर्न लागिएको हो । विभिन्न क्षेत्रमा क्रियाशील युवाको सञ्जालमार्फत युवा परिचालनका कार्यक्रम सञ्चालन गरिने छ । सात प्रदेशको प्रतिनिधित्व तथा ५० प्रतिशत महिला प्रतिनिधित्वसहितको राष्ट्रिय सञ्जाल निर्माण गर्न लागिएको हो ।
परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले विभिन्न आठ क्षेत्रमा युवा सञ्जाल गठन गर्न लागिएको र तीनवटा युवा सञ्जाल गठन भइसकेको पनि जानकारी दिनुभयो । युवा परिषद्मार्फत देशभर रहेका युवा क्लब, वैदेशिक रोजगारीबाट फर्किएका युवा, विज्ञान तथा प्रविधिमा क्रियाशील युवा, परम्परागत सीप संरक्षणमा लागेका युवा, पुनः स्थापना क्षेत्रमा क्रियाशील युवालगायतको छुट्टाछुट्टै सञ्जाल गठन गर्न लागिएको हो ।
अहिलेसम्म राष्ट्रिय युवा प्रतिभा तथा युवा उद्यमी सञ्जाल, वैदेशिक रोजगारीबाट फर्केका युवाको सञ्जाल र युवा क्लबको सञ्जाल गठन भइसकेको पौडेलले बताउनुभयो ।
राष्ट्रिय युवा नीति, २०७२ र युथ भिजन २०२५ मा उल्लिखित प्राथमिकताका क्षेत्रहरूमा युवा परिचालन गर्न लागिएको हो । पर्यटन प्रवद्र्धन, स्वयं सेवा अभिवृद्धिलगायतका ११ वटा क्षेत्रमा युवा परिचालन गरिने छ ।
आर्थिक वर्ष २०७६÷७७ को बजेट वक्तव्यमा युवाको जाँगर, समृद्धिको आधारलाई सार्थक तुल्याउन चालू आर्थिक वर्षलाई युवा परिचालन वर्षका रूपमा मनाइने उल्लेख गरिएको छ । युवा परिचालनमार्फत लैङ्गिक, जातीय र छुवाछूतलगायत सामाजिक विभेदको अन्त्य गर्न जनचेतना जगाउनेजस्ता कार्य गर्ने उल्लेख छ ।
यसैगरी सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा शैक्षिक संस्था, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद् र विभिन्न गैरसरकारी संस्थाबाट युवा परिचालनमार्फत मानवीय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षरोपणजस्ता कार्य गरिने छ भन्ने बजेटमा उल्लेख छ ।
युवा परिचालनका लागि युवा तथा खेलकुद मन्त्रालयले आन्तरिक कार्यविधिसमेत बनाएको छ । मन्त्रालयले युवा परिचालन तथा समाजका लागि युवाको योगदान कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी गरेको छ ।
सामाजिक परिवर्तन, विकास निर्माण, राष्ट्रनिर्माण, सामाजिक सेवाका विविध पक्ष, राज्यमा आइपर्ने आपत्कालीन अवस्थामा स्वयंसेवी शक्तिका रूपमा परिचालन गर्न तथा समाजको गतिशील र ऊर्जावान् शक्तिका रूपमा परिचालन गर्ने उद्देश्यका साथ बनाइएको कार्यविधिमा उल्लेख छ । स्थानीय युवा क्लब, नमुना युवा संसद्, स्थानीय तह, प्रदेश सरकार तथा सरकारी तथा गैरसरकारी संस्थाहरू मार्फत युवा परिचालन गरिने पनि उक्त कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया