१० विद्यार्थी, ८ शिक्षक

१० विद्यार्थी, ८ शिक्षक

जनकपुर । सामुदायिक विद्यालयमा शिक्षक अभावका कारण पढाइ राम्रो नभएको गुनासो सबैतिर छ । ग्रामीण क्षेत्रका विद्यालयमा अहिले पनि दरबन्दी अनुसारका शिक्षक छैनन् । एउटै शिक्षकले दैनिक आठ घन्टीसम्म पनि पढाउनेपर्ने बाध्यता केही क्षेत्रमा छ ।

तर जनकपुरको एउटा विद्यालयमा अवस्था विपरित छ । उपमहानगरभित्रकै विद्यालयको भौतिक संरचना भने खण्डहरजस्तो छ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिथिला बिहारी राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक संरचना भूकम्पले ध्वस्त भएको भग्नावशेष जस्तो देखिन्छ । कुनै कोठाका झ्याल ढोका नै छैनन् । कोही कोठाका पर्खाल भत्किएका छन् ।

कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा जम्मा १० जना विद्यार्थी विद्यालयमा हाजिर हुन्छन् । विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी देख्दा जो कोही अचम्मीत हुन्छन् । १० जना विद्यार्थीको लागि ८ जना शिक्षकको दरबन्दी छ ।

प्रदेश राजधानीसमेत रहेको उपमहानरपालिका भित्रैकै विद्यालयको अवस्था यस्तो हुँदा पनि कसैको ध्यान पुगेको छैन । दैनिक १० जनाभन्दा बढी विद्यार्थी कहिल्यै पुग्दैनन् । विद्यार्थी नआएपछि शिक्षकहरू पनि यति विद्यार्थीलाई के पढाउनु भन्दै गफमै व्यस्त हुन्छन् । यो विद्यालयमा दरबन्दी भएका अधिकांश शिक्षक पहुँचवाला नै छन् ।

हाजिरी रजिस्टरमा भने १ सय ५० विद्यार्थीको नाम लिस्ट छ । तर विद्यालयमा आउँछन् १० जना मात्रै । कहिले त त्यति पनि हुँदैनन् । विद्यालयमा ४ जना दरबन्दी, २ जना राहत कोटा र २ जना बालबिकास तर्फ गरि जम्मा ८ जना शिक्षक र १ जना कार्यालय सहयोगी छन् ।

विद्यालय पुग्दा देखिएको दृश्य

विद्यालय पुग्दा दिउँसोको करिब २ बजेको थियो । अधिकांश विद्यार्थी दिवा खाजा खाइ सकेका थिए भने केही विद्यार्थी खाजा खानमै व्यस्त थिए । ती विद्यार्थीहरूको संख्या मुस्किलले १० थियो । उनीहरू भूइँमै बसेका थिए ।

विद्यालयका कार्यालय सहयोगि पुरुषोत्तम रजक विद्यार्थीलाई खाजा खुवाइरहेका थिए । खाजा खाएपछि सबै विद्यार्थी आ–अफ्ना घरतिर लागे । टिफिन टाइमपछि कक्षा कोठामा जान निर्देशन दिने कोही खाजापछि सिधै विद्यार्थी घरतिर लागेका हुन् ।

यता विद्यालयका शिक्षक पनि आ–आफ्नै धुनमा हाँसीमजाकमै व्यस्त देखिन्थ्ये । तपाइहरू पढाउन नगएर किन गफमा व्यस्त हुनुहुन्छ भन्ने प्रश्नमा एक शिक्षकले भने, ‘विद्यालयमा विद्यार्थी नै छैनन्, कक्षा कोठामा गएर बेन्च टेबुललाई पढाउनु भएन ।’

विद्यालयका प्रधानाध्यापक गिता यादवले भनिन्, ‘हाजिरी रजिष्टरमा १५० जना विद्यार्थीको नाम दर्ता छ । तर कोही पनि अध्ययनका लागि आउँदैनन् । विद्यार्थी नै नभए पनि व्रिद्यालय बन्द गर्नु त भएन, हामी गफमै भए पनि समय विताउन बाध्य छौं ।’

यो विद्यालयको यस्तो हालत देखेर पनि नियामक निकायका प्रतिनिधिहरू चुपचाप छन् । शिक्षा समन्वय समिति धनुषाका प्रमूख बर्खु प्रसाद रजकले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘त्यहाँ कति विद्यार्थी आउँछन्, कति पढाइ हुन्छ, कुनै जानकारी छैन । अब केही समयमा जिल्लाभरका विद्यालय अनुगमन गर्ने तयारी गरेका छौं ।’

विसं. २०४४ सालमा स्थापना भएको यो विद्यालयमा चरम लापरबाही भइरहे पनि स्थानीय सरकार र शिक्षा समन्वय समितिबाट पनि कुनै कारबाही नभएको स्थानीय बताउँछन् ।

स्थानीय किसन साह भन्छन्, ‘धेरै वर्षदेखि यस्तै चलिरहेको छ, हरेक दिन विद्यार्थीभन्दा शिक्षक नै बढी हुन्छन् । यहाँका ५ कक्षासम्म पढ्ने विद्यार्थीले पनि आफ्नो नाम मुस्किलले लेख्छन् ।’ बाढीले भवन भत्काएपछि बचेको खण्डहरजस्तो संरचना पुनः भत्किने त्रासले विद्यार्थी नआउने गरेको विद्यालयको दाबी छ । 

प्रतिक्रिया