भैरबी र पलाँतामा कृषि प्रर्दशनी, प्रर्दशनी मार्फत कृषक जागरण

भैरबी र पलाँतामा कृषि प्रर्दशनी, प्रर्दशनी मार्फत कृषक जागरण

श्याम विसी, दैलेख
भैरवी गाउँपालिका –३ पिथुवाडाका कर्ण बहादुर शाहीले आफ्नो घर छेऊमै माछा पालेका छन् । बिगत पाँच बर्षयता माछापालनमा जोड दिदै आएका उनको माछापोखरीमा अहिले २ हजार ५ सय बढि माछा छन् । उपचारका क्रममा चितवन पुगेका उनले त्यहिबाटै परिक्षण गर्नका लागी केही माछाका भुरा ल्याएर दैलेख फर्किए । माछाको उत्पादन राम्रो हुने देखेपछि उनले त्यसलाई निरन्तरता दिए र उनको माछापालन फस्टाउँदै गयो । आफुले पालेका माछाहरु गत मगंलबार भैरवी गाउँपालिकाको केन्द्रमा भईरहेको कृषि प्रदर्शनीमा ल्याएर आए ।
उनि मात्रै होईन् भैरवी गाउँपालिकाका विभिन्न वडाका करिब ४० भन्दा बढि कृषक आफुले उत्पादन गरेका कृषिजन्य उपज तथा पशुजन्य उत्पादनहरु कृषि तथा पशु मेला प्रर्दशनीमा ल्याएर उपस्थित भएका थिए । बिगतमा परम्परागत कृषि प्रणालीमा केन्द्रित रहेर अन्न मात्र उत्पादन गर्ने कर्ण बहादुर जस्तै कृषकहरु अहिले भने कृषिलाई व्यवसायिक्तामै परिणत गर्न थालेका छन् । ‘हामी पहिले भन्दा केही बदलिएर कृषिमा होमिएका छौ, यसलाई हामीलाई नै समृद्ध बनाउने बिश्वास पनी लिएका छौ ।’ माछापालक शाहीले भने ‘पहिले अन्नबालीको खेती गर्ने र त्यहि उत्पादनको प्रयोग गर्ने अनी जिवन गुजारा गर्ने कयौँ मानिसहरुले अहिले कृषिलाई व्यवसायिक रुपमा गर्न थालेका छन् ।’
आफुले बारीमा उत्पादन गरेका कृषि जन्य वस्तु हुन् अथवा पशुजन्य उत्पादनहरुले उचित ठाउँ भने नपाएको उनको गुनासो छ । कृषकहरुलाई एक आपसमा परिचित गराउँदै सिकाईको आदान प्रदान भएको खण्डमा आफुहरुले कृषि क्षेत्रलाई राम्रो सम्भावना भएको ठाउँका रुपमा उनले चिनेका छन् । ‘आजको यो कृषि तथा पशुजन्य उत्पादन प्रर्दशनीले म स्वयमलाई धेरै कुराको सिकाई भएको छ ।’ यस्ता क्रियाकलापहरुले वास्तविक किसानहरुलाई अभिप्रेरित गर्ने बताउँदै उनी भन्छन् ‘आगामी दिनहरुमा पनी यि क्रियाकलापहरुलाई निरन्तरता दिन आवश्यक रहेको छ, यसले हामी सबैको सिप बिकासमा मद्धत पु¥याउँछ ।’
उनिजस्तै अर्का कृषक लिलाराम लामिछाने अहिले ४६ बर्षका भए । बि.सं २०५२ सालबाट कृषिमा नै सक्रिय उनले आफ्नै जिवनकालमा कृषिलाई व्यवसायिक बनाउन सकेकोमा खुशी व्यक्त गरे । अहिले उनको बारीमा बिभिन्न तरकारी सगैँ कयौँ फलफुल लगाएका छन् । ‘मैले अहिले तरकारी खेती सगैँ फलफुल उत्पादनलाई पनी प्राथमिकता दिएको छु, भावी पुस्तालाई कृषिमा अभिप्रेरित गर्न सहयोग पुग्ने भन्दै उनि भन्छन् ‘सबै कृषकहरुले तरकारी उत्पादनलाई प्राथमिकता दिनुभएकोछ, अब मैले फलफुल उत्पादनका क्षेत्रमा केही गर्ने योजना बनाएको छु ।’
सो क्षेत्रमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले महिला, युवा तथा बालबालिका प्रवद्र्धनका लागी आधार परियोजना मार्फत महिला, युवा तथा बालबालिकाहरुको प्रवद्र्धनसगैँ कृषि उत्पादन तथा पशुपालनका क्षेत्रमा बिभिन्न क्रियाकलाप सञ्चालन गर्दै आईरहेको छ । सो प्रदर्शनीमा सहभागिता जनाएका किसानहरु मध्ये फलफुल, तरकारी र पशुजन्य उत्पादन लगायतका ३ बिधामा ४–४ जना उत्कृष्ठ कृषकहरुलाई बिभिन्न कृषि सामाग्री तथा प्रमाणपत्र द्धारा पुरष्कृत गरिएको थियो ।
कालिकोटको पलाँतामा पनी कृषकहरुको उत्साह

कालिकोट पलाँता गाउँपालिकाको सबै जसो भुभाग सुख्खा छ । बिगतका केही बर्षहरुमा त्यहाँ तरकारीको उत्पादन गर्न खोज्नु असम्भव जस्तो थियो र सामान्य तरकारी समेत उत्पादन हुँदैन्थ्यो । तर अहिले त्यहाँका कृषक पनी तरकारीको उत्पादनमा सक्रिय हुन थालेका छन् । गतसाता पलाता गाउँपालिका–२ राडुनेटामा भएको कृषि मेला प्रदर्शनीमा पनी त्यहाँका किसानहरुले आफुहरुले उत्पादन गरेका कृषि उत्पादन सहित उल्लेखनिय सहभागिता जनाएका थिए । ‘हामीहरुले आफ्नै गाउँमा तरकारी उत्पादन शुरु गरेका छौ, अब यसलाई व्यवसायिक रुपमा गर्नुपर्नेछ ।’ बिगतका बर्षहरुमा गरिने कृषि प्रणाली सम्झदै स्थानिय किसान लोक बहादुर बमले भने ‘अहिले अरु कृषक पनी उत्साहित भएका छन्, सडकले छोएको छ अब यहाँको तरकारीले अन्यत्रको बजार ओगट्नेमा हामी सबैको ध्यान केन्द्रित होस् ।’ महिला, युवा तथा बालबालिका प्रवद्र्धनका लागी (आधार) परियोजनाले कालिकोटको पलाँता गाउँपालिकामा पनी महिला, युवा तथा बालबालिकाको प्रवद्र्धन सगैँ कृषि जन्य उत्पादनका क्षेत्रमा काम गरिरहेको छ ।
कृषकहरुलाई उर्जाशिल बनाउन उल्लेख्य भुमिकाः सरोकारवाला

कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी कृषकहरुलाई उत्प्रेरित गर्न नमुना काम भएको सरोकारवालाहरुले बताएका छन् । कालिकोटको पलाँता गाउँपालिकामा भएको प्रदर्शनीमा सहभागि भएका गाउँपालिकाका अध्यक्ष लक्षमण बमले यस्ता क्रियाकलापहरुले किसानहरुलाई थप उत्प्रेरणा मिल्ने भएकोले आगामी दिनमा पनी यसलाई निरन्तरता दिनुपर्ने बताए ।
गाउँपालिकाले पनी उत्कृष्ठ कृषकहरुलाई प्रोत्साहित गर्ने खालको योेजना ल्याउन लागेको भन्दै गाउँपालिकाले दातृ निकायसगँ समन्वय गर्नेमा उनको प्रतिबद्धता समेत रहेको छ । ‘बिगतका नत यहाँ तरकारी उत्पादन हुन्थ्यो, नत बाहिर बाट नै ल्याउन सकिन्थ्यो तर अहिले हामी स्वमयले तरकारीको उत्पादन गरेको देख्दा गरेर हुने रैछ भन्ने प्रमाणित भएको छ, खुशी व्यक्त गर्दै अध्यक्ष बमले भने ‘अहिले सडकले पनी हामीलाई छोएको छ र हामीले तरकारीको उत्पादन गर्न पनी थालेका छौ, अबभने कृषिलाई व्यवसायिक बनाउदै पलाताको तरकारी बाहिर निर्यात गर्नु आवश्यक रहेको छ ।’
यता दैलेखको भैरवी गाउँपालिकामा भएको कृषि तथा पशुजन्य उत्पादन प्रर्दशनी सहभागि भैरबी गाउँपालिकाकी उपप्रमुख पदम कुमारी बिष्टले आफ्नो क्षेत्रका कृषकहरुले कृषिमा गरेको मेहनत देखेर खुशी भएको प्रतिक्रिया दिईन् । ‘कतिपय अवस्थामा हामी कृषकहरुको बारीमा नै पुग्न सक्दैनौ, आज थाहा भयो हाम्रा दाजुभाई तथा दिदिबहिनी कति मेहनती हुनुहुन्छ भनेर’ किसानहरुलाई लक्षित गर्दै उनले थपिन्, ‘यहाँ प्रदर्शन भईरहेको यो सबै उत्पादन तपाईहरुको मेहनत हो, आगामी दिनमा यसलाई निरन्तरता दिनुहोस् हामी तपाईहरुको साथमा छौँ ।’

प्रतिक्रिया