रावललाई बास्कोटाको प्रहार : छाउपडी हटाउन नसक्ने, ठूलो कुरा गर्ने ?

रावललाई बास्कोटाको प्रहार :  छाउपडी हटाउन नसक्ने, ठूलो कुरा गर्ने ?

धनगढी : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेकपाका नेता भीम रावलका अभिव्यक्तिप्रति आक्रोश पोखेका छन्। मन्त्री बास्कोटाले सुदूरपश्चिम प्रदेशको सम्वृद्धिको बाधक छाउपडी प्रथा रहेको प्रशंग उल्लेख गर्दै प्रश्न गरेका छन्, ‘ छाउपडी हटाउन नसक्ने, ठूलो कुरा गर्ने ?’

धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशको सम्वृद्धि र विकासका लागि मिडियाको भुमिका’ विषयक कार्यक्रममा  मन्त्री बास्कोटाले भने, ‘चर्चित नेताहरु यसै प्रदेशमा छन्, त्यही पनि अछाममा छाउपडी प्रथा छ, अनि किन ठुला कुरा गर्ने ?’झण्डै एक घण्टा भाषण गरेका मन्त्री बास्कोटा प्रधानमन्त्रीको बचाउ गर्दै अधिकांश समय भीम रावलप्रति खनिएका थिए।

 ‘सुदूरपश्चिमका बाजुरा, बझाङ र अछाम जिल्ला चर्चित नेता भएका जिल्ला हुन्। मानविय सूचाकको हिसाबले सबभन्दा पछाडी यी जिल्ला नै किन ?’, उनले अगाडि भने,  ‘मैले व्यक्तिगत लाल्छना लगाएको हैन, तर मेरो सुझाव छ हामी के गरेर बसेका छौ र के गर्नुपर्ने हो हेक्का राखौं।’

सुदूरपश्चिमबाट ८ पटकसम्म देशको नेतृत्व गरेका नेताहरु रहेको र दोस्रो तहमा बसेर मुलु्कको सत्तामा पुगेका पनि थुप्रै नेताहरु रहँदा पनि उनीहरुले सामाजिक कुप्रथा विरुद्ध आवाज नउठाउनु दुखद भएको बास्कोटाले बताए। 

‘आफ्नै घर आँगनमा विकराल समस्या छ, त्यसलाई समाधान गर्न चासो दिएको देखिँदैन’,  मन्त्री बास्कोटाले भने, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खोकेर केही हुनेवाला छैन।’

सुदूरपश्चिमको विकासको बारेमा बोल्दै मन्त्री बास्कोटाले प्रदेशले बेच्न सक्ने सबै बस्तु तथा सेवाहरुको बजारीकरणमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए। जनताको पछौटेपनका कारण मुलुकमा लामो समय तानाशाहका सत्ताहरु चलेको बताउँदै मन्त्री बास्कोटाले सुदूरपश्चिममा पनि महिलाहरुको स्वतन्त्रतामा ठेस पुग्ने खालको छाउपडी प्रथा रहेको र त्यसलाई हटाउन नसक्दासम्म सामाजिक विकास सम्भव नहुने बताए।

छाउपडी प्रथा सुदूपश्चिमको कलंककोरूपमा रहेको भन्दै उनले चर्चित नेता भएको जिल्ला मानवीय सुचांकअनुसार पछाडि परेको प्रति आश्चर्य चकित रहेको बताए। मन्त्री बास्कोटाले सुदूपश्चिमबाट गएका नेताहरुले अवसर पाए पनि खासै परिवर्तन नभएको बताए। ‘लोकेन्दबहादुर चन्द र शेरबहादुर देउवा पनि ४-४ पटक प्रधानमन्त्री हुनुभयो, जम्मा ८ पल्ट’, उनले भने, ‘झापाबाट त अन्तिममा भएका हुन्, इतिहास हेर्ने हो भने कांग्रेसका विराटनगरबाट र यतैबाट प्रधानमन्त्री भएका देखिन्छन् नि।’

उनले पत्रकारलाई समेत प्रहार गरे। ‘फ्याक्ट चेक गर्दै नगरी एउटा कथा बनाएर समाचार लेख्ने गरिन्छ, ज्ञान बढाउनुस् साथीहरू मैले पनि २५ वर्ष गरेर आएको हो, तर म यहाँ फेरि प्रशिक्षण दिन आएको होइन’, उनले भने, ‘पत्रकारहरू विचित्रै लाग्न थाल्यो। कसै नजिकको मान्छेले फोन गरेर घुस्याहा हो मन्त्री भनेर लेख्देन भन्यो भने पत्रकारले कथा बनाएर त्यसै लेखको पाइन्छ। यो कस्तो पत्रकारिता हो ?’

प्रतिक्रिया