सुर्खेत र दैलेखमा २१ सय भन्दा बढी छाउगोठ, भत्काउन अवरोध गर्नेलाई सिधै जेल

सुर्खेत र दैलेखमा २१ सय भन्दा बढी छाउगोठ, भत्काउन अवरोध गर्नेलाई सिधै जेल

सुर्खेत पुष १७ । कर्णाली प्रदेशका सुर्खेत र दैलेख जिल्लामा रहेका सबै छाउगोठ भत्काउन दुवै जिल्लाका प्रशासन कार्यालयले अग्रसरता देखाएका छन् । गृहमन्त्रालयले छाउगोठ तत्काल भत्काउन निर्देशन दिएपछि प्रशासन तातेको हो । सुर्खेत जिल्लामा १८ सय र दैलेख जिल्लामा ३ सय १८ छाउगोठ रहेको अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सुर्खेतका चौकुने गाउँपालिकामा चार सय, बराहताल गाउँपालिकामा एक हजार र पञ्चपुरी नगरपालिकामा ४ सय छाउगोठ रहेका छन् ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरकारी वकिल कार्यालय प्रमुख र जिल्ला प्रही कार्यालय प्रमुखको एक समिति बनाई स्थानीय तहसँग सोझै समन्वय गर्दै छाउगोठ भत्काउन टोली विहीबार बराहताल जान लागेको प्रजिअ अधिकारीको भनाइ छ ।

‘हामी भोली बिहीवारदेखि बराहतालमा छाउगोठ भत्काउन जाँदैछौं,’ उनले भने, ‘सबैभन्दा पहिले कर्मचारी, जनप्रतिनिधि र शिक्षकका घरमा रहेका छाउगोठ भत्काउँछौं । त्यसपछि समुदायस्तरमै छाउगोठ भत्काउन अनुरोध गर्छौं । नभत्काए प्रहरी परिचालन गरेर भत्काउँछौं । अवरोध गर्नेलाई मुलुकी संहिता अनुसार फौजदारी अभियोगमा तीन महिना जेल राख्छौं ।’

सुर्खेतमा छाउगोठ भत्काउने अभियान २० वर्ष पहिले गैरसरकारी संस्थाहरूले शुरू गरेको भएपनि त्यो दिगो नभएको उनको भनाइ  थियो ।

‘अब हामी स्थानीय सरकार, प्रहरी प्रशासनले वर्षैभरि छाउगोठ भत्काउने अभियान जारी राख्नेछौं,’ लोकान्तरसँग कुरा गर्दै अधिकारीले भने, ‘यो अभियान जबसम्म कसैले पनि छाउगोठ बनाउन रोक्दैनन् तबसम्म जारी रहनेछ ।’

उनले सबै स्थानीय तहलाई छाउगोठमुक्त भनेर घोषणा गर्न पनि निर्देशन दिएको बताए । ‘यसका अलावा हामीले कार्यालयमा छाउगोठ भत्काउने र छाउ बार्न नदिने भन्दै हस्ताक्षर गर्न पम्पलेट पनि टाँसेका छौं,’ उनले भने, ‘सेवाग्राहीहरूले हस्ताक्षर गर्दै आउनु भएको छ । यो अभियानमा सबैको साथ रहने हाम्रो अपेक्षा छ ।’

उनका अनुसार वीरेन्द्रनगरको अछामी डाँडामा पनि छाउगोठ भएको सुन्नमा आएको बताउँदै त्यसतर्फ  पनि टोली परिचालन गरिनेछ ।

दैलेख जिल्लाको आठबीस नगरपालिकामा छाउगोठ भत्काउने अभियान सुरु भएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । उनका अनुसार जिल्लाका दुल्लु नपा, चामुण्डा विन्द्रासैनी नपा, आठबीस नपा र ठाँटीकाँध गाउँपालिकामा छाउ बार्ने गरिन्छ ।

त्यहाँ रहेका छाउगोठ भत्काउन स्थानीय तहका कार्यकारी, स्रोत साधन भएको गैरसरकारी संस्था र प्रहरी परिचालन गरिएको उनको भनाई छ ।

‘सुरुमा हामी छाउगोठ भत्काउन आम नागरिकलाई सचेतना दिन्छौं,’ कट्टेलले भने, ‘दिमागमा रहेको छाउगोठ भत्काउने प्रयास गर्छौं । त्यसरी पनि छाउगोठ भत्काउन मानेन भने दुइ चार जनालाई थुन्छौं । अब दैलेखमा छाउगोठ बनाउन नदिने गरि हाम्रो अभियान सुर भएको छ ।’

उनले जो सुकैको घरमा पनि छाउगोठ भएको पाइए भत्काउन अनुरोध गर्ने, नभत्काए कारवाही गर्नेगरी अघि बढेको जानकारी दिए । उनका अनुसार छाउगोठ नभत्काउनेलाई पहिलो चरणमा सामाजिक सुरक्षा भत्ता रोक्नेसमेत योजना बनाइएको छ ।लोकान्तर

प्रतिक्रिया