विद्यार्थीका गुनासै गुनासो

विद्यार्थीका गुनासै गुनासो

दैलेख पुष २२ ।
‘विद्यालयमा अतिरिक्त क्रियाकलाप हुदैनन्’ कक्षा ८ का विद्यार्थी सुनिल वादीले गुनासो गरे । ‘विद्यार्थीले खानेपानी पाउन गाह्रो भयो’ ८ कक्षाकै छात्रा श्रृष्टी बिकले गुनासो गरिन् । कक्षा १२ की छात्राले सुनाइन् – ‘सरकारले महिनावारी भएको बेला विद्यालयमा सेनेटरी प्याड दिने भनेको छ तर हामीले पाएका छैनौं ।’ सरकारले चालु आर्थीक बर्षमा सामुदायिक विद्यालयका छात्रालाई निशुल्क रुपमा सेनेटरी प्याड वितरण गर्ने घोषणा गरेको थियो ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ चुप्राको त्रिबेणी माविमा मंगलवार इन्सेक आयोजना गरेको शिक्षक, विद्यार्थी तथा अभिभावकवीच शिक्षा अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा यी प्रतिक्रियाहरु आएका हुन् । अन्तरक्रियामा अभिभावक तुल्सी पराजुलीले वडाको एउटा मात्र मावि भएको कारण विद्यालयलाई बजेट श्रोत आइरहेको तर समुचित प्रयोग नभएको बताइन् । अर्का अभिभावक धनसरा खत्रीले विद्यार्थी १२ बजेसम्म पनि आउदै गर्ने अनि २ बजे फर्किहाल्ने गरेको औल्याइन् ।

कक्षा ८ कै अर्का विद्यार्थी हेमन्त रोकायका अनुसार विद्यालयमा कम्प्यूटर शिक्षक नहुँदा विद्यार्थीहरु कम्प्यूटर प्रयोग गर्न पाएका छैनन् । कक्षा १२ की पूर्णिमा गुरुङ्गले विद्यार्थीहरुले शिक्षा विषय बाहेक अरु विषय छान्न नपाएको कारण गाउँबाट विद्यार्थीहरु सहर गएको सुनाइन् ।

त्रिबेणी संगम मावि चुप्राका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रधानाध्यापक ओमबहादुर पराजुली र डुङ्गेश्वर गाउँपालिका–१ का वडासदस्य कमला केसीले कमीकमजोरी सुधार गर्ने र बजेट श्रोतको व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।

विव्यस अध्यक्ष गौतमले आफू अध्यक्ष भएका ३८ दिनमै शिक्षक र विद्यार्थीलाई अनुशासनमा राख्न र शैक्षिक गुणस्तर सुधारको रणनीतिक योजना तयार पारेको सुनाए ।
इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले बालबालिकाको लागि पहिलो पाठशाला घर भएको कारण पढाईमा रुची जगाउन हरेक परिवारले वातावरण बनाउनुपर्ने औल्याए । त्यसका लागि दलित अभिभावकहरुलाई सचेतना जरुरी रहेको बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को इएलपी कार्यक्रमका जिल्ला सहजकर्ता सीता बुढा र त्रिवेणी माविको बाल अधिकार चेतना समूहका अध्यक्ष अस्मिता केसीले शिक्षक, अभिभावक र विद्यार्थी अन्तरक्रिया कार्यक्रमको महत्व बारे प्रकाश पारेकी थिइन् ।

प्रतिक्रिया