घरेलु मदिरा नियन्त्रणमा प्रहरी सक्रिय
तीन महिनामा २८२१ लिटर अवैध मदिरा, ११५२७ लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ र ४३४ केजी औषधी बरामद गरि नष्ट ।
हिक्मतबहादुर नेपाली
दैलेख पुष २३ । जिल्लाका विभिन्न स्थानीय तहमा हुने अवैध घरेलु मदिरा उत्पादन र बिक्री वितरण विरुद्ध प्रहरीले अभियान तिब्र पारेको छ । ११ वटै स्थानीय तहको मुख्य व्यापारिक केन्द्रका होटलैपिच्छे अवैध घरेलु मदिरा उत्पादन र विक्री वितरण हुने गरेको पाइएपछि प्रहरीले नियन्त्रणका लागि कडाई गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय दैलेख र मातहतका प्रहरी युनिटले घरेलु मदिरा नियन्त्रणका लागि कडाई गरेको हो । गएको तीन महिना देखि घरेलु मदिरा विरुद्ध अभियान तीब्र पारिएको दैलेख प्रहरी प्रमुख हरिबहादुर ओलीले बताए ।
जिल्लाभरबाट दुई हजार आठ सय २१ लिटर तयारी घरेलु मदिरा बरामद गरि नष्ट गरेको प्रहरीले जनाएको छ । यस्तै ११ हजार ५ सय २७ लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ र ४ सय ३४ केजी औषधी र भाडावर्तन बरामद गरि नष्ट गरिएको प्रहरीको तथ्यांक छ ।
होटल तथा स–साना चिया पसलहरुमा अवैध मदिरा विक्री वितरण भईरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले उक्त मदिरा नियन्त्रणमा लिने गरेको छ । ‘अहिले मदिरा उत्पादन र विक्री वितरण नगर्न आग्रह गरिरहेका छौ,’ डिएसपी ओलीले भने ‘अटेरी गरेर उत्पादन र विक्री वितरण गरेको पाईमा कारवाहीको दायरामा ल्याउँछौ ।’
घरेलु मदिराले अपराधिक गतिविधी, महिला हिंसा बढाउने, शान्ति सुरक्षाको अवस्था भंग गर्ने, मानव स्वास्थ्यमा गम्भिर असर गर्ने, राज्यको कर छली गर्ने लगाएतका कारणले जिल्लाभर घरेलु मदिरा नियन्त्रण अभियानलाई प्रहरीले प्राथमिकताका साथ सञ्चालन गरेको छ । घरेलु मदिरामा कुहिएका मोजा, महिलाले लगाउने भित्रि बस्त्र प्रयोग गरेको पाईएको डिएसपी ओलीले बताए । फोहोर तथा कुहिएको खाद्य पदार्थ हालेर बनाईएको घरेलु मदिरा स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
प्रतिक्रिया