दैलेखमा छाउप्रथा ‘भत्किदैनन् मनका गोठ’

दैलेखमा छाउप्रथा  ‘भत्किदैनन् मनका गोठ’

राकमकर्णालीमा छाउगोठ भत्काउदै प्रहरी ।

दैलेख पुष २४ । ०६८ मा दैलेख पश्चिममा छाउपडी मुक्त गाविस घोषणा गर्ने अभियान जोडतोडले चल्यो । वातावरण सुधार समाजको अगुवाईमा साविकका राकमकर्णाली, तीलेपाटा, सिगौडी लगाएतका आठ वटा गाविस छाउपडी मुक्त घोषणा भए । अभियानमा प्रहरी र स्थानीय महिलाहरु समेत सरिक भए । तर, त्यसको दुई बर्षपछि छाउगोठहरु पुन ठडिए । अहिले जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउन उर्दी जारी गरेको छ । तीन दिनको अवधीमा जिल्लाभरका १ सय ४६ वटा छाउगोठ भत्काईएको छ । तर, छाउगोठ नभएका घरका महिलाहरु गाई भैसीको गोठमा बस्ने चलन उस्तै छ ।

दैलेखका महिलाहरु गाईभैसी गोठमा बस्दै आएका छन् । राकम लगाएतका अधिकाँस स्थानका महिलाहरु रहरले नभई बाध्यताले छाउगोठमा बस्छन् । ‘छुई हुँदा घरभित्रै बस्यो भने त देउता रिसाउँछन अनेक समस्या आइलाग्छन’ राकमकी मिना बोहोराले भनिन् । छाउपडी विरुद्धको कानुनी प्रावधान जानकारी हुँदा पनि यहाँका महिलाहरु देउता लाग्ने डरले प्रथाबाट उम्किन सकेका छैनन् ।

मानसिकताबाट छाउगोठ नहट्दासम्म गोठ भत्काएर मात्रै छाउप्रर्था नहट्ने स्थानीय अगुवा बताउँछन् । छाउगोठ भत्काउने अभियानसँगसँगै चेतनामुलक र कानुनी व्यवस्थाबारे जानकारी दिने अभियान चलाउनुपर्ने स्थानीयको छ । ‘छाउगोठ भत्किए पनि मनमा बसेको अन्धविश्वास भत्किन सकेको छैन,’ अभियान्ता हीरासिंह थापा भन्छन् ‘मनको छाउगोठ नभत्काएसम्म छाउगोठ मात्रै भत्काएर छाउपडी पर्था अन्त्य हुँदैन् ।’ जिल्लामा राष्ट्रसेवक कर्मचारी, शिक्षकहरु छाउपडी मान्न उक्साएको पाइन्छ । आम नागरिकहरुको भन्दा पनि छाउपडी मान्ने राष्ट्रसेवक कर्मचारी, शिक्षक र जनप्रतिनीधिकै सेवा सुविधा रोक्का गर्नुपर्ने थापाले बताए ।
पुरुषले अगुवाई गर्नुपर्छ
छाउपडी विरुद्ध लामो समयदेखि काम गर्दै आएका जनप्रतिनीधिहरु छाउपडी अन्त्य गर्न पुरुषहरुले नै अगुवाई गर्नुपर्ने बताउँछन् । आठबीस नगरपालिकाका उपप्रमुख दिपा बोहोरा भन्छिन् ‘छाउगोठ भत्काएपनि महिलाहरु गाईभैसी गोठमा बस्दा जीवजन्तुले टोकेर मृत्यु हुन सम्भावना उत्तिकै छ, अब सोच बदल्नुपर्छ ।’ बुझेर वा नबुझेर अटेरी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बोहोराले बताइन् । सहायक प्रजिअ इन्द्रबहादुर क्षेत्रीले विभिन्न सामाजिक संघ संस्थाहरुको सहयोगमा छाउपडी विरुद्ध चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको बताए । ‘छाउगोठ भत्काउने अभियानसँगै चेतनामुलक कार्यक्रम गाउँ–गाउँमा पु¥याउँछौ,’ उनले भने ।

प्रतिक्रिया