विष खुवाई हत्या गरेको कसूरमा जन्म कैद फैसला

विष खुवाई हत्या गरेको कसूरमा जन्म कैद फैसला

दैलेख पुष २९ ।
आफैले जन्माएका दुई नाबालक छोराहरुलाई विष खुवाई हत्या गरेको कसूरमा महाबु गाउँपालिका–१ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले पुस २८ गते जन्मकैद फैसला सुनाएकोे छ । ०७५ कात्तिक १० गते दिउँसो खाजामा विष घोलेर खुवाएपछि ७ वर्षीय जेठो छोरा आयुष नेपाली बाटोमा र ३ वर्षीय कान्छो छोरा अमित नेपालीको उपचारको क्रममा मृत्यू भएको घटनाका सम्वन्धमा जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो ।
बिष लागेको थाहा पाएपछि स्थानीयको पहलमा अस्पताल ल्याउदै गर्दा आयुसको बाटोमै र अमितको भने उपचारको क्रममा ०७५ कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा मृत्यू भएको भनी जिल्ला प्रहरी कार्यालय दैलेखमा कात्तिक १६ गते जाहेरी दर्ता भएको थियो ।
आयुसको कात्तिक १० गते दैलेख जिल्ला अस्पतालमा र अमितको कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा शव परीक्षण भएको थियो । शव परीक्षण प्रतिवेदनमा ती दुवै बालकलाई विष खुवाइएको कारण ज्यान गएको उल्लेख छ ।
आरोपित कल्पनालाई प्रहरीले कात्तिक २० गते हिरासतमा लिई विष खुवाई कर्तव्य ज्यान गरेको मुद्दा चलाएको थियो । प्रहरीले अनुसन्धान सकेर दैलेख जिल्ला अदालतमा मंसिर १० गते दर्ता गराएको थियो । त्यही दिन अदालतले पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा राखेको थियो ।
२०७५ भदौ १ गतेदेखि लागू भएको ‘मुलुकी फौजदारी कसूर र सजाय ऐन २०७४’ को दफा १७७ बमोजिक ज्यान मारेको ठहरेको र सोही ऐनको दफा ४१ बमोजिम खाद्यबस्तुमा विष हाली मारेको खुलेको कारण जन्मकैद गरिएको फैसलामा उल्लेख छ । ऐनको उपदफा ४२ ले जन्मकैद भनेको २५ वर्ष कैद हुने प्रष्ट्याएको छ ।

प्रतिक्रिया