हटाइँदै खरका छाना

हटाइँदै खरका छाना

ज्वाला सन्देश फाइल

हिक्मतबहादुर नेपाली,

दैलेख माघ ६ गते । : नारायण नगरपालिकाले नगर क्षेत्रभित्रका घरको छाना हटाउने अभियान थालेको छ। गरिब तथा विपन्न परिवारका खरले छाएका घरको छानो हटाएर जस्तापाता छाइदिने भएको हो। खरले छाएको घरमा बस्ने परिवारलाई सुरक्षित छानोमुनि ल्याउन नगरपालिकाले खरको छानोमुक्त अभियान ल्याएको हो।

यहाँका अधिकांश गरिब, विपन्न तथा दलित समुदायका घर खरले छाएका छन्। नगरपालिकाभित्र खरको छानो विस्थापित गर्ने योजना अनुसार खरको छानो हटाएर जस्तापाताले घर छाउने तयारी रहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले गत वर्ष नीति तथा कार्यक्रममा यो योजना समावेश गरेको थियो।

नगरका सबै वडामा ७८८ घर खरले छाएका छन्। जसमध्ये चालू आर्थिक वर्षमा झन्डै तीन सय घरलाई खरको छानोमुक्त बनाइने नगरप्रमुख रत्नबहादुर खड्काले बताए। खरको छानोमुक्त घर निर्माणका लागि नगरपालिकाले ३० लाख, कर्णाली प्रदेश सरकारले ३० लाख रकम विनियोजन गरेको छ। राष्ट्रिय योजना आयोगबाट विशेष अनुदान स्वरूप एक करोड रुपैयाँ प्राप्त हुने नगरप्रमुख खड्काले बताए।

‘खरको छानो भएका प्रति घरधुरीलाई ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ,’ उनले भने, ‘यो कार्यक्रमका लागि कार्यविधि निर्माण भइरहेको छ, खरको छानोमुनि बस्न बाध्य परिवारलाई सुरक्षित छानोमा ल्याउँदैछौं।’ आगामी दुई वर्षभित्र खरले छाएका सबै घरमा जस्तापाताको छानो देखिने उनको भनाइ छ। खरको छानो भएका घरमा आगलागीको जोखिम बढ्ने र बर्सेनि छानो परिवर्तन गर्नुपर्ने समस्या समाधानका लागि जस्तापता लगाउने अभियान थालिएको हो।

यो कार्यक्रमप्रति खरको छानो भएका नगरवासी खुसी भएका छन्। यस्तै जिल्लाको डुंगेश्वर गाउँपालिकाले पनि विपन्न परिवारको तथ्यांक संकलनको काम थालेको छ। कार्यविधि निर्माण गरेर गाउँपालिकाभित्र रहेका विपन्न परिवारको घरको छानोमा जस्तापाता लगाइने गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए।

प्रतिक्रिया