पार्वतीका जेठाजुलाई ४५ दिन कैद

पार्वतीका जेठाजुलाई ४५ दिन कैद

अछाम माघ १० । साँफेबगर नगरपालिका ३ सिद्धेश्वरकी पार्वती बुढा रावतको मंसिर १६ गते छाउगोठमा मृत्यु भएपछि पक्राउ परेका जेठाजुलाई जिल्ला अदालत अछामले ४५ दिनको कैद फैसला सुनाएको छ।

मृतक पार्बतीका जेठाजु छत्र रावतलाई जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ४५ दिन कैद फैसला सुनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छाउगोठमा बस्न बाध्य पारेको आरोपमा पक्राउ परेर कानुनी कारबाहीमा पर्ने रावत पहिलो व्यक्ति हुन्। रावत यसअघि अदालतको आदेशमा २५ दिन प्रहरी हिरासतमा बसिसकेका छन् । रावतलाई भेदभाव तथा अन्य अपमान जनक शीर्षकमा गएको पुस १३ मा मुद्दा दर्ताको पछिल्लो दिन १५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको अछाम प्रहरीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

उनले एक वर्षभन्दा कम कैद सामान्य प्रकृतिका मुद्दामा प्रतिदिन तीन सय रुपैयाँका दरले बुझाइन्छ भने रावतले कैदमा बस्न बाँकी रहेको १० दिनको छ हजार रुपैयाँ बुझाएर गएका जानकारी दिए।

मृतक पार्वतीका श्रीमान् रोजगारको सिलसिलामा भारतमा रहेका र सासू ससुरा पनि घर बाहिर रहेकाले प्रहरी प्रतिवेदनका आधारमा घरमूली रहेका छत्र रावतलाई मंसिर १९ गते पक्राउ गरिएको थियो।

रावतको मृत्युपछि अछाममा छाउगोठ भत्काउने अभियान तीव्र भइरहेको छ। अछामलाई फागुन महिनाभित्र छाउ गोठ मुक्त जिल्ला घोषणा गर्ने गरी प्रहरी र जनप्रतिनिधि गोठ भत्काउने अभियानमा लागिपरेका छन् ।

मंगलसेनमा महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङको उपस्थितिमा हालै सम्पन्न ुमर्यादित महिनावारी प्रवद्र्धनका लागि साझा अभियानु मार्फत १३ बुँदे घोषणापत्र जारी गरिएको छ ।

घोषणापत्रमा स्थानीय सरकारको संयोजनमा छाउपडी बस्ने चलनविरुद्ध जनचेतना फैलाउने, सरसफाइ तथा स्वच्छता व्यवस्थापन गर्ने र प्रत्येक वडा तथा टोलस्तरमा नियमित अनुगमन गरिने उल्लेख छ ।

त्यस्तै गोठ भत्काएपछि पनि वैकल्पिक रूपमा पाल टागेर छाउ बार्ने तथा ओढारमा बस्ने गरेको भेटिए कानुन बमोजिम कारबाही गरिने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

२०७३ मा महिला तथा बालबालिका कार्यालयले छाउपडि अवस्थाबारे बिश्लेषण सम्बन्धी घरधुरी सर्वेक्षण अनुसार जिल्लामा ३२ हजार ६ सय ६ गोठ रहेको छ ।

प्रहरीले हालसम्म २ हजार ९ सय ४४ गोठ भत्काएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।अछाममा एक दशक यता १४ जना महिला तथा किशोरीको छाउगोठमा ज्यान गइसकेको छ।

प्रतिक्रिया