राहत शिक्षक परीक्षामा अनियमितता गर्ने वडा सदस्यसहित तीनजना पक्राउ

राहत शिक्षक परीक्षामा अनियमितता गर्ने वडा सदस्यसहित तीनजना पक्राउ

हिक्मतबहादुर नेपाली
दैलेख माघ १० ।
निम्न माध्यामिक तह सामाजिक विषयको राहत शिक्षक नियुक्तिमा अनियमितता गरेको आरोपमा तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले नियन्त्रणमा लिएको छ ।

जिल्लाको डुङ्गेश्वर गाउँपालिका-५ स्थित पिपलचौतारा माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनौट समितिका संयोजक भक्तबहादुर शाहीसहित तीनजनालाई आयोगले नियन्त्रणमा लिएको हो ।

शाही डुङ्गेश्वर गाउँपालिका(५ का वडासदस्य समेत हुन् । शाहीसहित परीक्षामा सहभागी भई छनौट भएका शिक्षक घनश्याम भण्डारी र बैकल्पिक उम्मेदवार दलबहादुर विकलाई आयोगले नियन्त्रणमा लिएको हो । तीनैजनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

गाउँपालिकाबाट सञ्चालन गरिएको शिक्षक छनौट परीक्षा सञ्चालन हुनु अगावै परीक्षार्थीलाई फेसबुक म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तरकुन्जिका पठाई शिक्षक छनौट गरेको भन्ने उजुरी परेपछि अनुसन्धान लागि नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

प्रतिक्रिया