राउटेलाई न्यानो कपडा

राउटेलाई न्यानो कपडा

दैलेख माघ १० ः वरिपरी घना जंगल, छेउमै बगेको बग्रेनी खोला किनारमा काठले बारेर टहराहरु निर्माण हुँदैछन् । गुराँस गाउँपालिका–४ सत्ताचौरमा बासिरहेका राउटे समुदाय यहि साता वीरेन्द्रनगर नगरपालिका–१३ बग्रेनी खोला किनारमा बसाई सरेका छन् । गुराँस गाउँपालिकामा हिमपात भएका कारण उनिहरु सुर्खेत बसाई सरेका हुन् । पुस माघको कठ्यांग्रिने जाडोबाट बच्न सुर्खेत झरेको राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको भनाई छ । उनिहरु अहिले बस्ने टहरो निर्माणमा जुटेका छन् ।

पालले छाएको छानोबाट चिसो बिस्तारामै पुग्छ, तर उनिहरु त्यहि टहरामा रात गुजार्न बाध्य छन् । बन्दै गरेका तीनै टहरा बाहिर घाम तापिरहेका थिए, बृद्धबृद्धा महिला बालबालिका र युवाहरु । चिसोले सास्ती बेहोर्दै आएका राउटे समुदायलाई गुराँस गाउँपालिका, एइआएन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित राउटे परियोजनाले न्यानो कपडा स्वरुप बल्यांकेट सहयोग गरेको छ ।

समुदायका ४६ घरपरिवारलाई प्रति परिवार एक वटा बल्यांकेट वितरण गरिएको सोसेकका पूर्वअध्यक्ष सिताकुमारी रानाले बताइन् । उनका अनुसार बल्यांकेट सहित खाद्यान्न स्वरुप चामल सहयोग गरिएको छ । प्रति परिवार एक बोरा चालम सहयोग गरिएको हो । ‘चिसोको समयमा बृद्धबृद्धा र बालबालिका बढि प्रभावित भएपछि बल्यांकेट सहयोग गरिएको हो, पूर्वअध्यक्ष रानाले भनिन् । राउटे युवा शिवराज शाहीले चिसोले कटेरोमा रात गुजार्न हैरान भएको बेला बल्यांकेट पाएपछि खुसी व्यक्त गरे । जंगलमा फिरन्ते जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदाय काठका भाँडाकुडा बनाई जीविकोपार्जन गर्छन् ।

प्रतिक्रिया