कर्णालीमा पर्यटन बोर्ड गठन, दैलेखका विष्णुप्रसाद शर्मा सदस्यमा नियुक्त

कर्णालीमा पर्यटन बोर्ड गठन,  दैलेखका विष्णुप्रसाद शर्मा सदस्यमा नियुक्त

सुर्खेत : कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न ११ वटा निर्णय सार्वजनिक भएको छ। आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता विमला केसीले कर्णालीमा पर्यटन बोर्ड पनि गठन गरेको जानकारी दिइन् । बोर्डमा रहने ११ जना सदस्य नियुक्त गरिएको छ।

केसीका अनुसार सदस्यहरुमा चिन्तामणि शर्मा (सुर्खेत), विष्णुप्रसाद शर्मा (दैलेख), ईश्वरी बुढाथोकी (सल्यान), लैकु लामा र लोकबहादुर हमाल (हुम्ला), बविकिशोर गुरुङ (डोल्पा), ललितजंग महत (जुम्ला), अदानसिंह कार्की (मुगु), पहलसिंह घर्तिमगर (रुकुमपश्चिम), वेदबहादुर शाही (जाजरकोट) र मर्मजंग बम (कालिकोट) रहेका छन्। 

बैठकले प्रदेशमा कार्यरत कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ। अब सुर्खेतमा चार हजार, सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेखमा ६ हजार, कालिकोट, र जुम्लामा आठ हजार र मुगु, डोल्पा र हुम्लामा कार्यरत कर्मचारीलाई १० हजार प्रोत्साहन भत्ता दिइनेछ। 

मन्त्रिपरिषद् बैठकले कर्णालीमा रहेका विमानस्थलहरुको विस्तार र स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ। संघीय सरकारसँग मिलेर विमानस्थल विस्तार गरिने मन्त्री केसीले बताइन्। मन्त्रिपरिषद् बैठकले कानुनी सहायता सम्बन्धी कार्यविधिअनुसार १० जिल्लामा दुई जनाका दरले २० जना सहजकर्ता र थप १० जना स्थानीय तहमा सहजकर्ता नियुक्त गर्ने निर्णय पनि गरेको हो। 

कालिकोटको पचालझरना गाउँपालिकाका मृतक खेलाडी समिपुरा बडेका बुवा रंगे नेपालीलाई एकलाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय सरकारले गरेको छ। यस्तै विभिन्न विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति र कार्यविधिहरु संशोधन गर्ने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिइन्। यसैबीच बजेट अधिवेशन अन्त्य भएको चार महिना कर्णालीमा संसदको हिउँदे अधिवेशन माघ २४ गतेदेखि सुरु हुने भएको छ।

प्रतिक्रिया