नागरिक समाजले बुझायो नारायण नगरपालिकालाई ज्ञापनपत्र

नागरिक समाजले बुझायो नारायण नगरपालिकालाई ज्ञापनपत्र

दैलेख माघ १३ । जिल्ला स्थित नागरिक समाजको टोलीले नारायण नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । नागरिक समाजले विभिन्न सवालहरु कार्यान्वयनको माग गर्र्दै ज्ञापन पत्र बुझाएको हो । टोलीले नगरप्रमुख रत्नबहादुर खड्का र उपप्रमुख सावित्री मल्ल समक्ष ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नारायण नगरपालिकाका रातो नम्बर प्लेटका सवारी साधनहरु तत्काल सेतो नम्बर प्लेटमा दर्ता गर्न माग गरिएको छ । नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुको बर्षको दुई पटक अनिवार्य रुपमा निशुल्क स्वास्थ्य परिक्षण गरिनुपर्ने, नगरपालिकाको वेवसाइट नियमित अध्यावधिक र सहज सूचना प्राप्त गर्ने बनाउनुपर्ने, कृषक समुह दर्ता नविकरणको शुल्क हेरफेर गर्नुपर्ने माग गरिएको छ ।

यस्तै सदरमुकाममा निर्माण गरिएका सार्वजनिक शौचालयहरु प्रयोगमा ल्याउनुपर्ने, कार्यपालिकाको विषयगत बैठकलाई प्राथमिकता दिनुपर्ने, कार्यालय परिषरमा स्थापना गरिएको सहायता कक्षको सदुपयोग र विषयगत शाखाका कर्मचारीहरु नियमित गरिनुपर्ने माग गरिएको छ ।
यसैगरी बार्षिक नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा सार्वजनिक गर्नुपर्ने, नगरपालिकालाई महिला हिंसा र बाल विवाह मुक्त नगर बनाउन आवश्यक सक्रियता बढाउनु पर्ने माग गरिएको छ । नगरपालिकाको सुशासन नीति, लैंगिक समानता र सामाजिक समावेशीकरण नीति निर्माणमा पहल गर्नुपर्ने, नगरपालिकाको समृद्धिका लागि आवश्यकता अनुसार नागरिक समाजसँग सहकार्य, साझेदारी र समन्वय प्रति सकारात्मक भई अगाडी बढ्नुपर्ने लगाएतका माग ज्ञापनपत्रमा छ ।

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख रत्नबहादुर खड्काले नागरिक समाजले राखेका सकारात्मक सुझावलाई आत्मसाथ गरि अगाडी बढ्ने बताए । त्यस अघि नारायण नगरपालिकाका जनप्रतिनीधि, कर्मचारी र जिल्ला स्थित नागरिक समाजका प्रतिनीधिहरु बिच पारस्परिक जवाफदेहिता अभिबृद्धि गर्ने उदेश्यले विभिन्न सवालबारे छलफल गरिएको थियो ।

प्रतिक्रिया