भ्रमण वर्षमै सुनसान रारा

भ्रमण वर्षमै सुनसान रारा

मुगु । ‘नेपाल भ्रमण वर्ष–२०२०’ उद्घाटनका अवसरमा संघीय र प्रदेश सरकारले तामझामका साथ विभिन्न कार्यक्रम आयोजना गरे । कर्णाली प्रदेश सरकारले भ्रमण वर्षकै अवसरमा ‘यसपालि घुमौं कर्णाली’ अभियान सुरु गर्यो । तर कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा केही समययता सुनसान छ ।

हिमपातपछि मुगुको राराताल । फाइल तस्बिर

एक महिनायता रारामा कुनै चहलपहल छैन। फाट्टफुट्ट आउने ५र७ जना पर्यटकको भरमा रारामा सञ्चालित होटल चलिरहेका छन्। पर्यटकीय चहलपहल नहुँदा रारा राष्ट्रिय निकुञ्जका कर्मचारी, सेना र होटल व्यवसायी फुर्सदिला छन्।

भ्रमण वर्ष सुरु भएपछि पर्यटक आउने आशामा बसेका होटल व्यवसायी निराश छन्। ‘हिमपात र आगन्तुक चराका कारण रारा क्षेत्र मनमोहक बनेको छ,’ भिलेज हेरिटेज रिसोर्टका प्रबन्धक दीपक रावतले भने, ‘पर्यटक नआउँदा हामी पनि फुर्सदिला बनेका छौं, व्यवसाय करिब शून्य जस्तै छ।’

दैनिक आउने ५र७ जना पर्यटकसमेत होटलमा नबस्दा आम्दानी शून्य बनेको उनले गुनासो गरे। भ्रमण वर्ष सुरु भएपछि रारा झन् सुनसान बनेको उनले बताए। तालमा निकुञ्जले व्यवस्था गरेका ६ वटा रबरका डुंगा पर्यटक अभावमा लामो समयदेखि थन्किएका छन्।

प्रतिक्रिया