सुर्खेतका महिलालाई निःशुल्क सेनेटरी प्याड

सुर्खेतका महिलालाई निःशुल्क सेनेटरी प्याड

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका सुर्खेतका महिलाहरुले अब सेनेटरी प्याड निःशुल्क पाउने भएका छन् । वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका सबै महिलालाई निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउन थालेको हो । वडामा रहेका स्वास्थ्य संस्थाबाट नगरभित्रका किशोरी तथा महिलालाई निल्क रुपमा प्याड वितरण सुरु गरिएको हो ।

कर्णाली प्रदेशको राजधानी सहरसमेत रहेको वीरेन्द्रनगरले नगरसभाबाटै यो कार्यक्रम घोषणा गरेको थियो । हाल संघीय सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई मात्र निस्शुल्क सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ । तर महिनावारी हुने उमेरका छात्रा र महिला सबैलाई निस्शुल्क प्याड वितरण गर्ने वीरेन्द्रनगर देशकै पहिलो नगरपालिका बनेको उपप्रमुख मोहनमाया ढकालले दाबी गरिन् ।

आर्थिक अभावका कारण अहिले पनि अधिकांश किशोरी र महिलाले महिनावारीको समयमा प्याड प्रयोग गर्न सक्ने अवस्थामा छैनन् । सेनेटरी प्याड नहुँदा महिनावारीको समयमा उनीहरुले सास्ती भोग्नु परेको छ । यही समस्या समाधान गर्न र सुरक्षित महिनावारीका लागि निःशुल्क रुपमा सेनेटरी प्याड वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि नगरपालिकाले प्याड वितरण गर्न १५ लाख बजेट विनियोजन गरेको छ । आगामी वर्ष यसलाई बृद्धि गरिने नगरपालिकाले जानकारी दिएको छ । नगरका १६ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट प्याड निःशुल्क वितरण हुन थालेको नगरपालिकाकी उपप्रमुख ढकालले बताइन् । ‘वीरेन्द्रनगरलाई महिलामैत्री नगर बनाउने योजना छ’ उपप्रमुख ढकालले भनिन्,‘छाउगोठमुक्त अभियानमा जुटेका छौं, अब नगरभित्र महिनावारी हुने उमेरका किशोरी र महिलाले निस्शुल्क रुपमा सेनेटरी प्याड पाउनेछन् । एक जनालाई मासिक एक प्याकेटका दरले उपलब्ध गराउने छौं ।’
प्याड वितरणका लागि महिला र किशोरीहरुलाई कार्डको व्यवस्था गरिएको छ । प्याड स्वास्थ्य संस्थामा आफैँ उपस्थित भएर लिनुपर्ने नियम बनाइएको छ । यसले किशोरी र महिलाहरु महिनामा कम्तिमा एकपटक स्वास्थ्यकर्मीको पहुँचमा हुने र उनीहरुको मासिक रुपमा स्वास्थ्य परीक्षण पनि गरिने नगरपालिकाले जनाएको छ । मर्यादित महिनावारीका लागि भन्दै नगरपालिकाले महिला स्वास्थ्य स्वंयम् सेविकाहरु पनि परिचालन गरेको छ ।

नगरपालिकाले चाँडै नगरलाई छाउगोठमुक्त घोषणा गरिने जनाएको छ । वडा नम्बर १६ को सानीलेक स्वास्थ्य चौकीबाट निःशुल्क प्याड वितरण अभियान सुरु गरिएको हो । निस्शुल्क प्याड पाएपछि स्थानीय रुपमाया आचार्यले भनिन्,‘प्याड किन्न सक्ने अवस्था थिएन, सुरक्षित महिनावारी नहुँदा पाठेघरमा संक्रमण भयो । अहिले मेरो पाठेघर नै फालिएको छ, अब हाम्रा छोरी बुहारीलाई प्याडले सजिलो हुनेभयो ।’
यस्तै स्थानीय किशोरी ममता कँडेलले पनि निस्शुल्क सेनेटरी प्याड पाउँदा अब महिनावारी हुँदा छोइछिटो हुने समस्याबाट मुक्ति मिल्ने बताइन् । वीरेन्द्रनगरभित्रै अहिले पनि कतिपय परिवारले महिनावारीको समयमा बार्ने चलन कायमै छ । अन्नपूर्ण पोस्ट्बाट साभार गरिएको

प्रतिक्रिया