कर्णालीका छोरी–बुहारीलाई प्राविधिक शिक्षा पढाउँदै प्रदेश सरकार

कर्णालीका छोरी–बुहारीलाई प्राविधिक शिक्षा पढाउँदै प्रदेश सरकार

सुर्खेत- प्राविधिक शिक्षामा कर्णालीका छोरी–बुहारीको पहुँच बढाउन प्रदेश सरकारले चालू शैक्षिक–सत्रमा थप एक सय जनालाई छात्रृृत्ति प्रदान गर्ने भएको छ। नर्सिङ, एचए, फार्मेसी, कवीराज, ल्याव टेक्निसियन, रेडियोलोजिस्ट, बाली विज्ञान, बागवानी, पशु विज्ञान, वन विज्ञान, इन्जिनियरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्नका लागि प्रदेश सरकारले छात्रवृत्ति प्रदान गर्ने छ। प्रदेश सरकारले अघिल्लो शैक्षिक–सत्रमा एक सय ५० छोरी–बुहारीलाई छात्रवृत्ति दिएर पढाइरहेको छ।

‘डिप्लोमा अध्ययन पूरा गर्दासम्मका लागि प्रदेश सरकारले नियमित छात्रवृत्ति उपलब्ध गराउँछ,’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘अघिल्लो शैक्षिक–सत्रका एक सय ५० छोरी–बुहारीका साथै चालू शैक्षिक–सत्रमा थप एक सय जनालाई छात्रवृत्ति प्रदान गर्छौ।’ प्रदेश सरकारले छोरी–बुहारी प्राविधिक शिक्षाका लागि चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ छुट्याएको छ।

‘प्राविधिक शिक्षामा छोरी–बुहारीको पहुँच बढाउनुका साथै कर्णालीमा दक्ष प्राविधिक उत्पादन गर्न यो कार्यक्रम प्रभावकारी भइरहेको छ,’ मन्त्री रावलले भने, ‘यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिन्छौं।’ अघिल्लो शैक्षिक–सत्रमा छात्रवृत्ति पाएका छोरी–बुहारीहरु विभिन्न कलेजहरुमा अध्ययनरत छन्। अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारले छोरी–बुहारी छात्रवृत्तिका लागि एक करोड ३० लाख ३६ हजार १३८ रुपैयाँ छुट्याएको थियो।

छात्रवृत्तिमा अध्ययन गरेका छोरी–बुहारीले अध्ययन सकेपछि तीन वर्षसम्म प्रदेश सरकारले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ। यसका लागि प्रदेश सरकारले छात्रवृत्ति प्राप्त गरेकाहरुसँग लिखित संझौता गरेको छ। ‘छात्रवृत्ति प्राप्त गरेका छोरी–बुहारीले अध्ययन सकेपछि न्यूनतम तीन वर्ष प्रदेश सरकारले खटाएको ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ’ उनले भने, ‘शर्तसहित छोरी–बुहारीलाई छात्रवृत्ति दिएका हौं।’

प्रदेश सरकारले एक जनालाई वर्षमा न्यूनतम ६६ हजारदेखि एक लाख ३० हजारसम्म छात्रवृत्ति दिन्छ। ‘प्रदेश सरकारले छोरी–बुहारीका लागि गरेको लगानी प्रभावकारी देखिएको छ, यो कार्यक्रमले कर्णालीका छोरी–बुहारीको पहुँच प्राविधिक शिक्षामा बढेको छ,’ मन्त्री रावलले भने।

छोरी–बुहारी छात्रवृत्ति कार्यक्रममा सहभागी हुनका लागि सरकारी विद्यालयबाट एसएलसी÷एसईई उत्तीर्ण गरेको हुनुपर्ने छ। यसका साथै कर्णाली प्रदेशभित्रको स्थायी बासिन्दा हो भनि स्थानीय तहले सिफारिस गर्नुका साथै प्राविधिक विषय अध्ययनका लागि भर्ना भई नियमित अध्ययनका साथै अन्य कुनै सरकारी छात्रवृत्ति नभएकोलाई मात्रै यो कार्यक्रमभित्र समावेश गरिने छ।

अनाथ, असहायहरुको हकमा भने निजी शिक्षण संस्थाबाट एसईई उत्तीर्ण गरेकाहरुले पनि छात्रवृत्ति पाउने छन्। यसका लागि उनीहरुले स्थानीय तहबाट अनाथ, असहाय भनि प्रमाणित गरेको सिफारिस पेश गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया