ग्रामीण महिलालाई सेनेटरी प्याड बनाउने तालिम

ग्रामीण महिलालाई सेनेटरी प्याड बनाउने तालिम

दैलेख : महिनावारीका बेला रगत व्यवस्थापन गर्न सेनेटरी प्याड अत्यावश्यक बस्तु हो । तर, भगवतीमाई गाउँपालिका –६ की स्थानीय अमृता खड्कालाई सेनेटरी प्याडबारे जानकारी नै थिएन । उनले यसै साता घरेलु प्याड बनाउन सिकेकी छिन् । ‘सेनेटरी प्याड निर्माण गर्ने सीप सिकेको छु,’ उनले भनिन् ‘कपडा प्रयोग गरेर घरमै बनाउन सकिँदो रहेछ, अब महिनावारीको समयमा नियमित सेनेटरी प्याड प्रयोग गर्छु ।’ उनिजस्तै स्थानीय खम्बिरा रोकायलाई पनि सेनेटरी प्याडबारे थाहा थिएन् ।

‘महिनावारी हुँदा फोहोर कपडा प्रयोग गथ्र्यौ, सरसफाईको कमीले कहिले काही स्वास्थ्य समस्याले सताउँथ्यो,’ उनले भनिन् ‘घरेलु प्याड सजिलो र भरपर्दो हुँदोरहेछ, एउटै प्याड पटक–पटक प्रयोग गर्न पनि मिल्ने ।’
भगवतीमाईका यी महिलाजस्तै अन्य धेरै महिलाहरुले अहिले आफैंले सेनेटरी प्याड बनाउन र प्रयोग गर्नसक्ने भएका छन् । यहाँका ७० जना स्थानीय महिलाहरुलाई सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको थियो ।

भगवतीमाई गाउँपालिका/ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले सेनेटरी प्याड बनाउन सीप दिएपछि महिनावारी स्वच्छ हुँदै गएको स्थानीय निर्मला खड्काले सुनाइन् । ‘सेनेटरी प्याड बनाउन सहज छ,’ उनले भनिन् ‘हामीले आफू मात्रै होइन घरपरिवार, छरछिमेक र साथीलाई समेत सीप सिकाउनेछौ ।’

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा गाउँपालिकाका सातै वडामा सञ्चालित वडा स्तरिय पुर्णसरसफाई तथा मर्यादित महिनावारी व्यवस्थापन तालिम सकिएको छ ।

तालिममा सेनेटरी प्याड बनाउने तरिका, प्रयोग गर्ने तरिका सिकाईएको थियो । वडानम्बर ४ का वडाध्यक्ष कृष्णबहादुर थापाले ग्रामिण महिलाहरुलाई सेनेटरी प्याडबारे जानकारी दिएपछि महिनावारी स्वच्छ हुने बताए । किशोरीहरुलाई लक्षित गरेर यस्ता सीप दिनुपर्ने स्थानीय सुनिता शाहीले आग्रह गरिन् । ग्रामिण महिला असुरक्षित महिनावारीकै कारण विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित नहुन भन्नका लागि महिनावारी व्यवस्थापनबारे तालिम प्रदान गरेको ग्र्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका संयोजक प्रकाश अधिकारीले जनाए ।

प्रतिक्रिया