पेट्रोलिमय अन्वेषण : सिस्मिक सर्भेको काम अन्तिम चरणमा

पेट्रोलिमय अन्वेषण : सिस्मिक सर्भेको काम अन्तिम चरणमा

दैलेख : दैलेखमा सञ्चालन भईरहेको बहुप्रतिक्षित पेट्रोलियम अन्वेषण अन्तरगर्त सिस्मिक सर्भेको काम अन्तिम चरणमा पुगेको छ । जियोलोजिकल सर्भे, म्याग्नेट सर्भे तथा जियोकेमिकल स्याम्पलिङको कार्य सम्पन्न भई थालिएको विस्तृत सिस्मिक सर्भे अन्तिम चरणमा पुगेको बताइएको छ । पञ्चकाशी तिर्थस्थल मध्ये श्रीस्थान, नाविस्थान, पादुका लगाएतका क्षेत्रलाई आधार मानेर थालिएको सिस्मिक सर्भे अन्तरगर्त १० वटा लाइन मध्ये सात वटा लाइनको काम सकिएको पेट्रोलियम अन्वेषण परियोजनामा संलग्न खानी तथा भू–गर्भ विभागका डा.गणेशनाथ त्रिपाठीले बताए । ‘सिस्मिक सर्भे अन्तरगर्त तीन वटा पूर्वपश्चिम र सात वटा उत्तरदक्षिण दिशामा फैलिएका १० वटा सिस्मिक लाइनहरु थिए,’ डा त्रिपाठीले भने । त्रिपाठीका अनुसार बाँकी रहेका तिनवटा लाईनको काम आगामी फागुन दोस्रो सातासम्म सक्ने गरि चिनियाँ प्राविधिक टोलिले काम गरिरहेका छन् ।
जिल्लाको दुल्लु नगरपालिका, भैरबी गाउँपालिका, महाबु गाउँपालिका, नारायण नगरपालिकाका विभिन्न क्षेत्रमा केन्द्रित भई सर्भेका काम भएको उनले बताए । त्यसबाहेक चामुण्डाविन्द्रासैनी नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, नौमूले गाउँपालिका, भगवतीमाई गाउँपालिकाका केहि भूभाग तथा कालिकोट, जाजरकोट र अछामको छेउछाउसम्म पुगेर सर्भे भएको त्रिपाठीले जानकारी दिए । ‘१० वटै लाइनमा सिस्मिक सर्भे सम्पन्न भएपछि चिनियाँ प्राविधिक टोली चिन फर्केर यहाँ संकलन गरिएको तथ्यांक अध्ययन गरि फर्केपछि अन्वेषणात्मक ड्रिलिङ गरिनेछ,’ उनले भने ‘त्यसपछि मात्रै तोकिएको स्थानमा पेट्रोलियम भण्डारण रहे नरहेको पुष्टि हुन्छ ।’
अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियम भण्डारणको पुष्टि भएमा भण्डारणको आर्थिक विश्लेषण अन्तरगर्त भण्डारणको आकार, प्रकार, आयतन, व्यापारिक रुपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्राको विश्लेषण गरि प्रमाणित भण्डारण व्यापारिक प्रयोजनका लागि उपयुक्त छ वा छैन भन्नेबारे निश्कर्ष निकालिनेछ ।’ सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्नसक्ने आवश्यक स्रोत चट्टान, भण्डारण गर्नसक्ने खालका चट्टान, पेट्रोलियम थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौगर्भिक संरचनाहरुले दैलेखमा पेट्रोलियमको भण्डारण हुनसक्ने सम्भावनाका बलियो आधार रहेको त्रिपाठीले बताए । ‘अहिलेसम्म पेट्रोलिमय पदार्थ पत्ता लागेका अन्य स्थानमा चुहावटलाई आधार मानेर गरिएको अध्ययन अनुसार पत्ता लागेको छ,’ उनले भने ‘दैलेखमा सतही भौगर्भिक अध्यननहरु गर्दा पेट्रोलिमय भण्डारण रहनसक्ने सम्भावना भेटिएको छ, त्यसको नक्सांकन समेत गरिएको छ ।’
दैलेखमा सञ्चालन भईरहेको विस्कृत पेट्रोलियम अन्वेषण कार्य प्रधानमन्त्री केपी शर्मा ओलीको सन २०१६ मा चीन भ्रमणको क्रममा नेपाल सरकार र चीन सरकार बीच भएको द्धिपक्षीय सहमतीको मुर्त रुप हो । ‘दैलेख क्षेत्रमा पेट्रोलियम अन्वेषण सम्बन्धि कार्य भएको यो पटक पटक भने होइन्, पेट्रोलियम अन्वेषण परियोजनाका भू–गर्भविद्हरुले प्रारम्भिक चरणको भौगर्भिक अध्ययन पुरा गरी भौगर्भिक नक्सा समेत तयार पारिसकेका छन्, उनले भने । टोली दुल्लु नगरपालिका–८ मा क्याम्प राखेर अन्वेषण कार्य गरिरहेको छ ।

प्रतिक्रिया