रैथाने बाली संरक्षण, प्रवद्र्धन र विस्तार अभियान


हिक्मतबहादुर नेपाली
दैलेख : आयातित र उन्नत जातका बीउका कारण पुस्तौ देखि जिल्लाको ग्रामिण भेगमा उत्पादन हुँदै आएको बन्नबाली लोप हुने अवस्थामा पुगेका छन् । जिल्ला कृषि विकास कार्यालयसँग रैथाने बालीको अभिलेख समेत छैन् । आयातित चामल र गहुँलाई महत्व दिँदा रैथाने बालीहरु लोप हुने अवस्थामा पुगेका छन् । लोप हुने अवस्थामा पुगेका कागुनो, कोदो, फापर, चिनो, लट्टेसाग लगाएतका रैथाने बाली जोगाउने अभियान थालिएको छ । लोपोन्मुख अवस्थामा पुगेका बालीको संरक्षण संगै व्यवसायीकरण गरिने भएको हो ।
जिल्ला कृषि विकास कार्यालयले रैथाने बालीको संरक्षण, प्रर्वद्धन र विस्तार अभियान थालेको हो । रैथाने बीउ उत्पादनमा आत्मनिर्भर, अलैची, किवी, कागती व्यवसायको क्षेत्र विस्तार मार्फत व्यवसायिक र प्रर्तिश्पर्धी बनाइने कृषि विकास कार्यालयका निमित्त प्रमुख तिलकप्रसाद पाण्डेले बताए । चालु आर्थिक बर्ष देखि नै परम्परागत बीउ र जैविक मलको प्रयोग बढाउँदै रैथाले बालीको खेती विस्तार गर्न लागिएको उनले बताए । रैथाने बाली संरक्षण तथा व्यवस्थापनका लागि चालु आर्थिक बर्षमा ९३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भईसकेको छ । उक्त बजेटले यो बर्ष स्थानीय रैथाने बालीको संरक्षण र सम्र्बद्धनका लागि प्रचारात्मक, प्रविधि तथा उन्नत बीउ वितरण र परिकार विविधिकरण कार्यक्रम गरिने पाण्डेले बताए । यस्तै अर्गानिक कृषि प्रविधि सम्बन्धि तालिम तथा प्रविधि सहयोगमा खर्च गरिनेछ । ‘होटल व्यवसायीहरुलाई अर्गानिक तथा रैथाने परिकार सम्बन्धि तालिम दिइनेछ,’ पाण्डेले भने ‘१० वटा अर्गानिक उत्पादन नमुना फर्म सञ्चालन गर्नेछौ ।’ १० वटा अर्गानिक मल तथा अर्गानिक बिषादीको डेमो प्रर्दशन, कृषकलाई अर्गानिक मल तथा अर्गानिक बिषादीको डेमो प्रर्दशनका लागि अनुदान दिइने उनले बताए ।
लोपोन्मुख रैथाने बालीको बीउ सरक्षण, प्रर्वद्धन, महिला स्वास्थ्य स्ंवमसेवीका र सहजकर्तालाई रैथाने बालीको खाद्य पोषण सम्बन्धित तालिम, रैथाने बालीको प्रोफाइल तयारी, उत्पादनमा विविधिकरण, अर्गानिक होमस्टे प्रर्वद्धन तालिम, मेसिन औजार सहयोग जस्ता कार्यक्रम गरिने कार्यालयले जनाएको छ । रैथाने कृषि उपजको बजारिकरणका लागि प्याकेजिङ, लेबलिङ लगाएतमा बजेट खर्च गर्ने कार्यक्रम रहेको कार्यालयले जनाएको छ । ‘कर्णाली सरकारले समेत अर्गानिक प्रदेश बनाउने निणर्य गरिसकेको छ, पछिल्लो समय किसानले उन्नत जातको अन्नबाली लगाउने र रैथाने बालीको प्रयोग पनि कम हुँदै गएको पाइएपछि कृषि विकास कार्यालयले संरक्षण अभियान थालेको हो,’ पाण्डेले भने ।
जिल्ला कृषि विकास कार्यालयले प्रांगारिक मिसन कार्यक्रमबारे स्थानीय तहका जनप्रतिनीधि र सरोकारवालाहरुलाई जानकारी समेत दिएको छ । अर्गानिक मिसन कार्यक्रम सम्बन्धि जिल्लास्तर कार्यक्रम अभिमुखीकरण गोष्ठीमा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारी, नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही लगाएत सरोकारवालाहरु सहभागि थिए ।
प्रतिक्रिया