जातीय विभेद विरुद्ध कलम चलाउन आग्रह– त्रिपाठी

जातीय विभेद विरुद्ध कलम चलाउन आग्रह– त्रिपाठी

सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला त्रिपाठीले जातीय विभेद र समाजका सबै बिकृति हटाउन कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनको आज धनगढीमा उद्घाटन गर्दै उहाँ सो विचार राख्नुभएको हो ।

प्रदेश प्रमुख त्रिपाठीले समाजको धारणा बदल्न सञ्चार माध्यमको अहम् भूमिका रहेको व्याख्या जातीय विभेदको चरम समस्या रहेको सुदूरपश्चिमका दलित पत्रकारहरुले क्रियाशीलता अझ बढी प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष संविधानसभा सदस्य बिनोद पहाडीले नेपालका विभिन्न राजनीतिक र सामाजिक परिवर्तनमा योगदान पु¥याएका दलित योद्धाको प्रचार गर्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष पहाडी दलित पत्रकारहरुको क्षमता बढाउन र जातीय विभेद मुक्तिको निम्ति गैरदलितहरुको सहकार्य बढाउन राष्ट्रिय दलित पत्रकार संघ नेपाल स्थापना भएको प्रष्ट पार्नुभयो । पत्रकारितामा आक्रर्षित युवा दलित पत्रकारहरुको मनोवल बढाउन चाहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री बिश्वेन्द्र पासवानले राजनीतिक नेतृत्वको असहिष्णु व्यवहारको कारण नेपालको संविधानले दिएको अधिकार दलित, महिला लगायतका विछडा जातिवर्ग क्षेत्रले उपभोग गर्न नपाएको टिप्पणी गर्नुभयो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले महासंघले संस्थागत संरचनामा महिला, दलित, जनजाति, मधेसी लगायतका पत्रकारहरु समेत समेट्ने विधानमै व्यवस्था गरिएको बताउँदै दलित पत्रकारहरुको क्षमता विकास र पेशामा टिकाई राख्न सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरु नेपालो चौधरी, उमा बादी, टेकबहादुर रैका, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य रमा बादी, राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रमुख झङ्कर रावल, मुक्त हलिया समाजका प्रतिनिधि राजुराम भुलले पनि बोल्नुभएको थियो ।

राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम भेला आयोजक समितिका संयोजक करण ताम्राकरको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष गोपाल बराइली, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष उमीद बागचन, महासंघका केन्द्रीय सदस्य मीन बम, प्रदेश अध्यक्ष अर्जन शाह, धनगढीका पत्रकार रमा भट्टराईले दलित सवाल र सञ्चार माध्ययमको भूमिका विषयमा प्रकाश पार्नभएको थियो ।

प्रतिक्रिया