सडक विस्तार भएसँगै किसानलाई सहज

सडक विस्तार भएसँगै किसानलाई सहज

दैलेख : जिल्लाको भैरबी गाउँपालिका-७ कुसापानीको मान्म र भक्तडाँडामा सडकको पहुँच पुगेको छ । भैरबी गाउँपालिकाले उक्त स्थानमा सडकको पहुँच पु¥याएको हो । उक्त दुई स्थानमा डेरी फर्महरु सञ्चालित छन् । सडक विस्तारसँगै यहाँ सञ्चालित फर्ममा उत्पादित बस्तुहरु निर्यात गर्न किसानलाई सहज भएको छ । गाउँसम्म ग्रामीण सडक निर्माण भएपछि किसान व्यावसायिक पशुपालनमा हौसिएका छन् । दुई भैंसी र दुई गाई पालिरहेकी स्थानीय खगिसरा आचार्यले भनिन् ‘गाउँसम्म सडक पुगेपछि दुधले सहज बजार पाएको छ, दुधको भाउसमेत बढेको छ ।’ दैनिक ११ लिटर दूध बिक्री हुन थालेपछि घरखर्च चलाउन समस्या नभएको उनले बताइन् । आचार्य जस्तै स्थानीय दीपप्रसाद पौडेलले दैनिक २० लिटर दूध बेचेर मासिक २७ हजार रुपैयाँ कमाइरहेका बताए ।
स्थानीय मोहन पौडेलले गाउँमै डेरी खोलेर छुर्पी उत्पादन गरिरहेका छन् । ‘सडक बनेपछि दुधले मूल्य पायो,’ पौडेलले भने ‘अब न भाउको समस्या छ, न बजारको ।’ कुनै समय दुध बेच्न तीन घण्टा हिँड्नुपर्ने बाध्यता सडकले हल गरेको उनले सुनाए । स्थानीय बजारमा दूध प्रतिलिटर ४५ रुपैयाँमा बिक्री भइरहेको छ । यसअघि किसानलाई दुध बिक्री गर्न सास्ती थियो । चिप्लो बाटोका कारण वर्षायाममा दुध बाटैमा पोखिने समस्यासमेत किसानले भोग्दै आएका थिए ।
दुधसँगै अन्य कृषि उत्पादन पनि बजार पु¥याउन सहज भएको छ । डेरीमा सबै घरधुरीले न्यूनतम दैनिक ६ लिटर दूध बिक्री गर्छन् । उद्योगले ६ युवालाई नियमित रोजगारी दिइरहेको छ । डेरी सञ्चालक पौडेलले सडक कृषकका लागि ‘बरदान’ साबित भएको बताए । उनका अनुसार अहिले किसानको घरबाटै दुध संकलन हुन्छ । उत्पादित छुर्पी जिल्लाबाहिर जान थालेको छ । दुध बिक्रीबापत किसानले मासिक १५ हजारदेखि ३२ हजार रुपैयाँसम्म आम्दानी गरिरहेको उनले जानकारी दिए ।
गत वर्ष डेरीले किसानलाई ३१ लाख रुपैयाँ वितरण गरेको थियो । यो वर्ष करिव ४० लाख रुपैयाँको दुध खपत हुने देखिएको पौडेल बताउँछन् । गत वर्ष प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई २० भैंसी र ३४ गाई अनुदानमा वितरण गरेको थियो । गाउँमा सडक पुगेपछि स्थानीय किसानलाई सहज भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापाले बताए । मान्मका ५४ घरधुरीमा व्यावसायिक भैंसीपालन भइरहेको छ ।

प्रतिक्रिया