नौ महिनादेखि पाँच वर्ष मुनिकालाई दादुरा– रुबेला खोप : दैलेखमा ३२ हजार ७ सय बालबालिकालाई खोप लगाउने लक्ष

नौ महिनादेखि पाँच वर्ष मुनिकालाई   दादुरा– रुबेला खोप : दैलेखमा ३२ हजार ७ सय बालबालिकालाई खोप लगाउने लक्ष

दैलेख : सरकारले दादुरा–रुबेला रोग निवारण गर्ने उद्देश्यले खोप कार्यक्रम देशैभर सञ्चालन गर्दैछ । सोही अन्तरगर्त दैलेखमा दोस्रो चरणको खोप कार्यक्रम आगामी चैत्रमा सञ्चालन हुने भएको छ । नौ महिनादेखि ५९ महिनासम्मका (पाँच वर्ष मुनिका) सबै बालबालिकालाई लगाइने खोप कार्यक्रम दैलेखमा दुई चरणमा गरि खोप लगाउने स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । आगामी चैत्र ७ गते देखि पहिलो चरणमा जिल्लाको दुल्लु नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाटीकाँध गाउँपालिका र आठबीस नगरपालिकामा खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए । उनका अनुसार दोस्रो चरणमा चैत्र १५ गते देखि जिल्लाको नारायण नगरपालिका, भैरबी गाउँपालिका, महाबु गाउँपालिका, नौमूले गाउँपालिका, भगवतीमाई गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका र गुराँस गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन हुनेछ ।
शुक्रवार स्वास्थ्य सेवा कार्यालय दैलेखद्धारा दादुरा–रुबेला खोप अभियान २०७६ अन्तरगर्त आयोजित जिल्ला स्तरिय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो । दैलेखमा यस पटक ३२ हजार ७ सय २० जना बालबालिकालाई खोप लगाउने लक्ष राखिएको खोप अधिकृत रेग्मीले बताए । उनका अनुसार दैलेखमा ५ सय ४० वटा खोप केन्द्र मार्फत बालबालिकालाई दादुरा–रुबेला खोप दिइनेछ । यसअघि खोप लगाएको भए पनि यो अभियानमा दादुरा–रुबेला खोपको थप एक मात्रा नछुटाई लगाउन सरकारले आग्रह गरेको छ । यो अभियानमा दिइएको खोप दादुरा रुबेला खोप पूरक (थप) मात्रा हो ।
खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा खोप समन्वय समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले रोगमुक्त जिल्ला बनाउनुपर्नेमा जोड दिए । सोहि अबसरमा जिल्ला समन्वय समितिका उपप्रमुख लक्ष्मीदेवी शाह, प्रमुख जिल्ला अधिकारी युवराज कटेल, प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओली, डा. निरञ्जन पन्त लगाएत जिल्ला स्थित सञ्चारकर्मी सहभागि थिए ।

प्रतिक्रिया