रोजाई, आवाज र प्रतिबद्धता कार्यक्रम सञ्चालन हुने

रोजाई, आवाज र प्रतिबद्धता कार्यक्रम सञ्चालन हुने

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले ५ दिने रोजाइ, आवाज र प्रतिवद्धता कार्यक्रम सञ्चालन गर्ने भएको छ । गुराँस गाउँपालिकाको वडा नम्बर ४ र ५ का विभिन्न टोलमा सञ्चालन गर्न लागिएको रोजाइ, आवाज र प्रतिवद्धता कार्यक्रम इकोलोजिकल मोडेलमा सञ्चालन हुनेछ । यो पाठ्यक्रम प्रमाणमा आधारित अनुसन्धानबाट तयार गरिएको सोसेकका बाल अधिकार तथा बाल संरक्षण संयोजक निर्मल अधिकारीले बताए । रोजाई बालबालिकाको लागि, आवाज परिवारका लागि र प्रतिवद्धता समुदायको लागि सञ्चालन गरिने अधिकारीले जानकारी दिए ।
‘बालबालिकामा परिवर्तन आउँदैमा परिवारमा परिवर्तन आउँँदैन, परिवारमा परिवर्तन आउँदैमा, समुदायमा परिवर्तन आउँदैन त्यसैले बालबालिका, परिवार र समुदायमा परिवर्तनका लागि रोजाई, आवाज र प्रतिवद्धता कार्यक्रम प्रभावकारी हुनेछ,’ उनले भने । किशोर किशोरीको लैङ्गिक व्यवहार र सोचाईमा परिवर्तन ल्याउन १० देखि १४ वर्ष उमेर समूहका बालबालिकाको लागि ९ वटा रोजाइ सुत्र, अभिभावकहरुमा रहेको परम्परागत सोचाई हटाउन ६ वटा भिडियो प्रस्तुतिकरण र प्रतिवद्धता अन्तर्गत सामुदायीक परिवेशमा रहेका अभिभावकहरुको लागि भावनामा आधारित सन्देश पु¥याउन ९ वटा पोष्टर सार्वजनिक गरिने अधिकारीले बताए ।
कार्यक्रम सञ्चालनका लागि सहजकर्ताहरुको तालिम शनिबारबाट शुरु भएको छ । उक्त तालिम गुराँस गाउँपालिकाको समन्वय र सेभ द चिल्ड्रनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत सञ्चालन गरिएको हो । उक्त तालिमको उद्घाटन सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कार्यक्रम निर्देशक नवराज वि.सि.ले गरेका थिए । तालिमको उद्घाटन गर्दै निर्देशक वि.सि.ले समुदायमा रहेको लैङ्गिक मूल्य मान्यतामा परिवर्तन ल्याउदै उमेर नपुगी गरिने विवाह र किशोरावस्थामा हुने गर्भाधारणालाई अन्त्य गर्नुका साथै भावनामा आधारित व्यवहार परिवर्तन गर्न सहयोग गर्ने बताए । उनले किशोर केटाहरुको लैङ्गिक सोचाई र व्यवहारमा परिवर्तन ल्याउन सके नेपाली समाजमा बालिकाहरुप्रति गरिने व्यवहारमा परिवर्तन ल्याउन सहयोग पुग्ने उनको भनाई थियो ।
‘सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल देलेखको आफ्नै बाल संरक्षण नीति छ, बालसंरक्षण नीति विपरित सहजकर्ताको व्यवहार संस्थालाई स्विकार्य हुँदैन्,’ उनले भने ‘हाम्रा छोरीलाई विद्यालय नपठाउने, छाउपडी प्रथालाई प्रश्य दिने पनि एक प्रकारको दुव्र्यवहार भएका कारण यस्ता सबै प्रकारका हिंसा र दुव्र्यवहारका विरुद्ध हामी प्रतिवद्ध भएर लाग्नुपर्छ । ’ नेपालको संविधानमा बालबालिकालाई कुनै हिंसा वा दुव्र्यवहार गर्न नहुने कुरा उल्लेख भएको उनले बताए । छाउपडी र बालविवाह अन्त्यका लागि संस्थाले विगत लामो समय देखि समुदायमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको जानकारी गराउदै उनले भने ‘विहेवारी २० वर्ष पारी संस्थाको मुख्य लक्ष्य हो ।’ त्यसैले बालविवाहमा हुने भोज भतेरमा कोही सहभागी नहुन उनको आग्रह थियो ।

प्रतिक्रिया