पोषण सुधारका लागि बिउ वितरण

पोषण सुधारका लागि बिउ वितरण

दैलेख : सुनौला हजार दिनका आमाहरुको पोषण सुधारका लागि तरकारीको बिउ वितरण गरिएको छ । दुल्लु नगरपालिका कृषि विकास शाखाले विपन्न परिवारका सुनौला हजार दिनका आमाहरुलाई एक दिने पोषण तालिमको आयोजना गरि उनिहरुलाई पोषण सुधारका लागि बिउ वितरण गरेको हो । दुल्लु नगरपालिका – ४ का नौ वटा आमा समुहलाई एक दिने पोषण सम्बन्धी तालिम प्रदानसँगै पोषण सुधारका लागि तरकारीको बिउ वितरण गरिएको हो ।
३० जना सुनौला हजार दिनका आमाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बोल्दै दुल्लु नगरपालिकाकी उप–प्रमुख बिष्णु थापाले अब हामी लगाएत कोही कसैले पनि आफ्नो घरको करेसा बारीमा फलेका हरिया सागपात, पहेला फलफुल खाने बानीको विकास गर्नुपर्ने बताइन् । महिलाले अन्य समय भन्दा गर्भवती भएको समयमा बढि फलफुल खानु पर्ने उनले उल्लेख गरिन् ।
दुल्लु नगरपालिका–४ का वडाअध्यक्ष भरतप्रसाद उपाध्यायले अब घरमा उत्पादन भएको दुध तथा तरकारी बजारमा बेचेर चाउचाउ खाने परिपाटीको अन्त्य हुनुपर्ने बताए । करेसा बारीमा उत्पादन भएका अर्गानीक कृषि उपज उत्पादन गरी खाने आमालाई वडाले पुरस्कृत गर्ने वडाध्यक्ष उपाध्यायले घोषणा गरे । हरेक घर वरपरका खाली रहेको जमिनलाई करेसाबारीमा परिणत गरेर पोषणमा सुधार गर्ने उदेश्य सहित सुनौला हजार दिनका आमाहरुको पोषण सुधारका लागि सिमी, धनीया च्याउ, फर्सी करेला लागाएत यो मौसमा उत्पादन हुने बिउ वितरण गरिएको कृषि विकास शाखाका राजन विष्टले बताए ।

प्रतिक्रिया