कर्णालीलाई चिनाउन कर्णाली उत्सव

कर्णालीलाई चिनाउन कर्णाली उत्सव

सुर्खेत : सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सव सोमबारदेखि सुरु भएको छ। ऋति फाउण्डेसनले विभिन्न निकायसँग सहकार्य गर्दै कर्णाली उत्सवको आयोजना गरेको हो। ‘कुडा कर्णालीका’ मुल नारा राखेर आयोजना गरिएको तीन दिनसम्म चल्ने कर्णाली उत्सवमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णालीको विकासबारे व्यापक बहस गरी निष्कर्षमा पुग्नुपर्ने बताए। बस्नेतले कर्णालीको विकासका लागि कर्णालीवासी आफैं उठ्नुपर्ने भन्दै कर्णालीमा लगानी आवश्यक रहेकोमा जोड दिए।

कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्य रहेको कर्णाली उत्सवमा कर्णालीका विविध पक्षबारे बौद्धिक बहस हुने उत्सवका संयोजक कमलराज लम्सालले बताए। कार्यक्रममा साहित्य, आर्थिक, सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयमा बहस हुनेछ। कर्णालीप्रेमी चर्चित साहित्यकार, कलाकार, लेखक, पत्रकार, बुद्धिजीवी एवं विशिष्ट व्यक्तित्व उत्सवमा वक्ताका रूपमा रहेका छन्। यस वहसले कर्णालीको मौलिक इतिहासलाई कोट्याउने, कर्णालीको यथार्थ चित्र प्रस्तुत गर्ने तथा अबको बाटो देखाउन सहयोग गर्ने आयोजकको विश्वास रहेको छ ।  उत्सवको पहिलो दिन ‘सरकारका तीन तह, बगाउन्या कर्णालीका बह’ शीर्षकको सेसन भएको छ। जसमा संघ, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधिहरुबीच बहस भएको छ।

 सेसनमा  संघीय तहहरुबीचको आपसी सम्बन्ध, गाउँगाउँमा सिंहदरवार पुग्यो वा पुगेन ? तीन तहका सरकारबीच स्रोत साधनको बाँडफाँट तथा संघीयता र समृद्धिलगायतका विषयवस्तुमाथि विमर्श भएको छ। खस सभ्यताको विरासत, खस भाषाको विकास र संरक्षण, सामाजिक परिवेश र खसका गर्व गर्न लायक विषयहरुमाथि बहस गर्न ‘खसका खासखुस’ सेसन निर्माण गरिएको छ। यस सेसनमा खस भाषाको शव्दकोश खसिया आखरका लेखक संस्कृतिविद् रमानन्द आचार्य, डा. विपिन अधिकारीलगायतको सहभागिता रहेको थियो।

संस्कार र समानता नामक सेसनमा विद्यमान सामाजिक संरचनाले निर्माण गरेको लैंगिक विभेद, कर्णालीका महिलाहरुको सामाजिक अवस्था तथा भोग्नु परेको हिंसा, विभेद र हिंसाको कारण, समानता र समानुपातिक सहभागितालगायतका विषयवस्तुमाथि बहस हुनेछ। कर्णालीमा उद्यमशीलता, बेरोजगारी, वैदेशिक रोजगारी युवा तथा श्रम आप्रवासनको अवस्थामाथि विमर्श गर्न काला पहाडका तोडा नामक सेसन तय गरिएको छ। उत्सवमा प्रदेशको विकासको वर्तमान अवस्था, पछाडि पारिनुका कारण, अबको बाटो, सार्वजनिक सरोकारका विषयहरुमा नागरिकहरुले प्रश्न गर्नुपर्ने कारण लगायतका विषय समेटेर प्रश्न किन गर्ने? भन्ने सेसन निर्माण गरिएको छ। प्रदेशको अर्थतन्त्रका मुख्य आधार, लगानीका प्रमुख क्षेत्र, कर्णालीमा लगानी कसरी भित्र्याउन सकिन्छ? जस्ता विषयले पनि उत्सवमा स्थान पाउने छन् । 

प्रतिक्रिया