कर्णाली भित्रिने नाकामा स्वास्थ्य जाँच

कर्णाली भित्रिने नाकामा स्वास्थ्य जाँच

सुर्खेत : कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) भित्रन नदिन सीमावर्ती नाकामा कडाइ गरिएको छ। प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य नाकामा स्वास्थ्यकर्मी खटाएर जाँच गर्न थालेको हो। कोरोनाबाट जोगिन ती नाकामा हेल्थहेस्कसमेत स्थापना गर्ने तयारी छ।

कोरोनाबाट अति प्रभावित छिमेकी देश चीनसँग सीमा जोडिएको हुम्लासहित चार वटा नाकामा जाँचमा कडा गरेको प्रदेश सरकारले जनाएको छ। सामाजिक विकास मन्त्रालयले सबै नाकामा हेल्थडेस्क नै स्थापना गर्न लागेको जनाएको छ। चीनसँग सिमाना जोडिएको हुम्लाको हिल्सा, प्रदेश ५ सँग जोडिएको बबई, दाङबाट भित्रिने सल्यानको कपुरकोट र काठमाडौंबाट भित्रिने सुर्खेत विमानस्थलमा गरी ४ ठाउँमा जाँच हुनेछ।

यी चारै ठाउँमा हेल्थडेस्क राख्ने तयारी प्रदेश सरकारको छ। जाँचमा कडाइ गरिने र बाहिरबाट आउनेको स्वास्थ्य परीक्षण गरिनेछ। कोरोना भित्रिन सक्ने जोखिम रहेका यी नाकामा औषधिसहित स्वास्थ्यकर्मीले आउजाउ गर्नेलाई जानकारी दिनेछन्। शंकास्पद बिरामीको स्वास्थ्य जाँच पनि गर्नेछन्। हेल्थ डेस्कमा आवश्यक उपकरण र औषधि तत्काल हिल्सा नाकामा पठाउन तयारी राखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले जानकारी दिइन्। उनले भनिन्, ‘सुर्खेत विमानस्थलमा रहने हेल्थ डेस्कमा पनि आवतजावत गर्ने मानिसको नियमित जाँच गरिनेछ।’

कपुरकोट र बबईमा राखिने डेस्कमा जनचेतनालाई प्राथमिकता दिइनेछ। कोरोना संक्रमित भए उपचार गर्न वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा २ बेडसहितको विशेष कक्ष स्थापना गरिएको छ। सामाजिक विकास मन्त्रालयले प्रदेशमा कोरोना भित्रिन नदिन उच्च सर्तकता अपनाएको जनाएको हो। प्रदेश सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको छ। सामाजिक विकासले स्वास्थ्यका कर्मचारीलाई बिदा नदिन र तालिममा नपठाउन सबै जिल्लालाई निर्देशन दिएको छ।

‘कोरोनाबाट जोगिन हामीले विशेष तयारी गरेका छौं, उच्च सतर्कता पनि अपनाएका छौं,’ निर्देशक जोशीले भनिन्, ‘यसैका लागि स्वास्थ्यकर्मीलाई पनि बिदा र काजमा नजान भनेका हौं, सबै जिल्ला अस्पताल र प्रदेश अस्पताललाई पनि यसबारे आवश्यक निर्देशन दिइसकेका छौं।’ प्रदेशले बिदामा बसेका स्वास्थ्यकर्मीलाई पनि तत्काल कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। कोरोनाबाट जोगिन स्थानीय तहमा औषधि र स्वास्थ्यकर्मी व्यवस्था गर्न स्थानीय तहसँग समन्वय भइरहेको प्रदेश सरकारले जनाएको छ।

प्रतिक्रिया