बालविवाह रोक्न कार्डमै जन्ममिति

बालविवाह रोक्न कार्डमै जन्ममिति

उदयपुर : उमेर नपुगी बिहे गर्दा कानुन लाग्छ। उमेर पुगेको प्रमाण थाहा पाउने कसरी ? त्रियुगा नगरपालिकामा अभियान चलाइएको छ– निमन्त्रणा कार्डमै उमेर खुलाउने। त्रियुगा–१२ त्रिवेणी टोलकी २५ वर्षीया साजना चौधरीको विवाहको कार्ड उमेर खुलाएर छापिएको छ। उनको विवाह त्रिनपा–१३ वहेडवाका २५ वर्षीय मनोज चौधरीसँग हुँदै छ।

त्यस्तै, त्रिनपा–४ वगाहाकी सिर्जना कार्की र प्रकाश बस्नेतका अभिभावकले पनि जन्ममिति खुलाएर कार्ड छापे। दुवैको जन्ममिति कार्डको माथिल्लो भागमा छापिएको छ।गाईघाटका अफसेट प्रेसमा छाप्न ल्याइएका विवाह कार्डमा उमेर खुलाइएको छ। जन्मदर्ताअनुसार मिति मिले–नमिलेको हेरेर मात्र कार्ड छापिने गरेको लक्ष्मी अफसेट प्रेसका सञ्चालक सुनील महतोले जानकारी दिए।

जन्मदर्ताबिना छाप्न आएकालाई फर्काउने गरेको उनले बताए। उनले भने, ‘धेरैजसो जन्मदर्ताबेगर आउँछन्, लिएर आए मात्रै छाप्छौं भनेपछि कोही नछापीकनै फर्कने गरेका छन्।’जन्मदर्ताबेगर आएका कार्ड नछापीकनै फर्काइने गरेको कार्की छापाखानाका सञ्चालक हिमाल कार्की बताउँछन्। जिल्लामा बालविवाह नरोकिएपछि सरकारी र गैरसरकारी निकायले विवाहको कार्डमै उमेर खुलाउन अभियान चलाएका छन्। अभियानमा छापाखाना र परिवार राजी भएका छन्।

सामाजिक अभियन्ता महेश्वरी राईले भनिन्, ‘विवाह हुन लागेका दुवै जना बालबालिकाभित्र पर्दैनन् भन्नका लागि कार्डमै जन्ममिति लेखिएको हो।’ बालविवाह नरोकिएपछि अभियानलाई परिवर्तन गरिएको बाल हेल्पलाइन १०९८ का संयोजक शिरोमणि खतिवडा बताउँछन्। उनले भने, ‘लुकिछिपी उमेर ढाँटेर गरिने बालविवाहको क्रम बढेकाले त्यसलाई निरुत्साहन गर्न कार्डमा उमेर खुलाइएको हो।’

कानुनविपरीत विवाह गराउने व्यक्तिसमेत कारबाहीमा पर्ने भएकाले कार्डमा जन्ममिति खुलाउने अभियान चलाइएको प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले जानकारी दिए।जिल्लामा बर्सेनि सरदर ६० जोडीको बालविवाह हुने गरेको छ। तीमध्ये आधा मात्रै प्रहरीकहाँ पुग्छन्। अभिभावकको मौन स्वीकृतिमा विवाह हुने गरेको अभियन्ता खतिवडाले बताए।नेपालको कानुनमा बालविवाहलाई दण्डनीय अपराधका रूपमा लिइएको छ। अभियान सञ्चालन गरिए पनि बालविवाह नरोकिएको त्रियुगा नगरपालिका–८ की वडासदस्य कमला कटुवालले बताइन्।

यसरी सुरु भयो अभियान

गत मंसिरमा जिल्ला प्रहरीले बालविवाह भइरहेको अवस्थामा बेहुला–बेहुली तथा आफन्तसहित जन्तीलाई पक्राउ गर्यो। पक्राउ परेका जन्तीले निम्तो मान्न आउँदा उमेर सोधेर आउने प्रचलन नभएको तर्क गरे। घटनापछि जिल्ला प्रशासन कार्यालयमा बसेको बाल हेल्पलाइन १०९८ को बैठकमा विवाहको कार्डमा उमेर खुलाउने सहमति बन्यो।

यस्तो छ कानुनी व्यवस्था

बालविवाहमा संलग्न भएको खुले तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ। २० वर्ष नपुगी गरिने विवाहलाई कानुनले मान्यता दिँदैन। कानुनी प्रावधानको बर्खिलाप गरे विवाह गराउने दुवै पक्षलाई कारबाही हुने व्यवस्था छ।

पढे–लेखेको केटा र जागिरे भए छोरीले सुख पाउँछे भन्दै उमेर नै नपुगी विवाह गर्ने प्रचलन बढेको त्रियुगा नगरस्तरीय बालसञ्जालका पूर्वसचिव भुवन दाहाल बताउँछन्। उमेर नै नपुगी आफूखुसी विवाह गर्ने घटना प्रशस्तै रहेको अधिकारकर्मी माया भण्डारी बताउँछिन्। ‘भागी होस् या मागी दुवै बालविवाह सामाजिक अपराध हुन्’, भण्डारी भन्छिन्, ‘त्यसले यस्ता गतिविधि रोक्न अभियान जारी राखेका छौं। त्यसो त बालविवाह अन्त्यका लागि जिल्लामा काम गर्ने संस्था नभएका पनि हैनन् तर न्यूनीकरण हुन सकेका छैनन्।’

प्रतिक्रिया