दैलेखको राकमकर्णाली स्वास्थ्यचौकीमा भर्ना भएका दुई बिरामीको रिर्पोट नेगेटिभ
हिक्मतबहादुर नेपाली
दैलेख चैत्र १६ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आशंकामा दैलेखको राकमकर्णाली स्वास्थ्य चौकीको आइसोलेसनमा भर्ना गरिएका दुई जना बिरामीको रिर्पोट नेगेटिभ आएको छ । एकै घरका दुई दाजुभाईलाई ज्वरो र रुघा खोकी देखिएपछि गत बुधवार आठबीस नगरपालिका–४ स्थित स्वास्थ्य चौकी राकमकर्णालीमा भर्ना गरिएको थियो । शुक्रवार स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय दैलेखको ल्याबको टोली राकमकर्णाली स्वास्थ्य चौकीमै पुगेर उनिहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
तर, उनिहरु दुवै जनाको स्वास्थ्य परिक्षणको रिर्पोटमा कोरोना भाइरस नभएको पुष्टि भएको छ । आइतवार दुबै जनाको रिर्पोट नेगेटिभ आएको आठबीस नगरपालिकाका स्वास्थ्य शाखा संयोजक देवराज तिमिल्सेनाले जानकारी दिए । उनिहरु दुवै जना बिरामी परेर स्वास्थ्य चौकीमा भर्ना हुनुभन्दा १० दिन अघि मात्रै भारतको मुम्बईबाट घर फर्किएको स्वास्थ्य शाखा संयोजक तिमिल्सेनाले जनाए । ‘अहिले उनिहरु दुवै जनालाई आइसोलेसन बेडमा राखिएको भएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको छ,’ स्वास्थ्य शाखा संयोजक तिमिल्सेनाले भने ।
दैलेख जिल्लाबाट नमुना संकलन गरी परिक्षणका लागि पठाईएको यो पहिलो पटक भएको दैलेख अस्पतालका प्रमुख डा. निरन्जन पन्तले बताए । यस अघि कुनै पनि बिरामीको स्वास्थ्य परिक्षणका लागि नपठाईएको डा. पन्तले जानकारी दिए । जिल्लाका विभिन्न स्थानीय तहमा भारत लगाएतका मुलुकबाट मजदुरी गरेर फर्किएका व्यक्तिहरु क्वारेन्टाइनमा बसेको भएपनि आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने बिरामी नआएको डा.पन्तले जनाए ।
प्रतिक्रिया