बलात्कारको चार महिनापछि उजुरी

बलात्कारको चार महिनापछि उजुरी

कालिकोट : आफन्तबाटै बलात्कृत भएकी एक किशोरीले चार महिनापछि जल्ला प्रहरी कार्यालयमा आएर उजुरी दिएकी छन् । जिल्लाको शुभकालिका गाँउपालिका निवासी १५ वर्षीया किशोरीले आफूलाई चार महिनाअघि बाजे नाता पर्ने व्यक्तिले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन् ।
आफन्तबाटै बलात्कृत किशोरीलाई परिवारले उजुरी गर्न दिएको थिएन् । परिवार र आफन्तले गाउँमै मिलापत्र गराएर सामसुम पार्न खोजे पनि भागेर सदरमुकाम मान्मा आई मंगलबार जाहेरी दिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्यामबाबु ओलियाले ‘मुद्दा नगर’ भनेर फर्काउन आएका किशोरीका हजुरबाले सही गर्न नमानेपछि किशोरी आफैंले जाहेरीमा हस्ताक्षर गरेको बताए ।
नातामा हजुरबा पर्ने शुभकालिका गाउँपालिका–७ काफलकाटियाका ३५ वर्षीय मलिराज शाहीले गत मंसिर १८ गते जबर्जस्ती करणी गरेको आरोप किशोरीले लगाएकी छिन् । गाउँमा छैटी हेर्न जाँदा बाटोमा पछाडीबाट छोपेर गाईको गोठमा लगी जबरजस्ती करणी गरेको पीडित किशोरीले बताइन् ।
जाहेरीपछि स्वास्थ्य परीक्षण गरी सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको डीएसपी ओलियाले जानकारी दिए परिवारले मुद्धा नगर भन्दाभन्दै आफूले नमानी उजुरी गर्न आएको उनले जानकारी दिइन् ।
पीडित किशोरीका अनुसार बलात्कार भएपछि गाउँमा कचहरी बसेको र त्यहाँ सबैले क्षमा दिनुपर्छ भनी सुझाव दिएका थिए । ‘घटना मिलाउन पटक–पटक गाउँका आफन्तसहित अगुवा बसी पाँच लाख रुपैयाँ दिने भनेर मिलापत्र गरिएको थियो । मैले त्यस कुरामा सहमति जनाइन्’ उनले भनिन् । डीएसपी ओलियाका अनुसार आरोपित शाही हाल काठमाडौंमा छन् ।
पीडित बालिका जिल्ला सदरमुकाममा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा संचालित महिला तथा बालबालिका सेवा केन्द्रमा आश्रय लिएर बसेकी छन् । पीडित बालिकालाई केन्द्रले मनोविमर्श परामर्श, कानुनी सहयोग प्रदान गरेको थियो । एक हप्ता पुग्न लाग्दा पनि बालिकालाई जिम्मा लिन उनका कोही परिवार तथा आएका छैनन् ।

प्रतिक्रिया