चैतको विकास खर्च ८ अर्ब ७४ करोड मात्रै


काठमाडौं वैशाख १। कोरोना भाइरस (कोभिड–१९) को असर विकास खर्चमा प्रत्यक्ष देखिएको छ । चालु आर्थिक वर्षको ९ औं महिना बितिसक्दा मात्र २५.७९ प्रतिशत विकास खर्च भएको छ । अझ कोरोनाबाट अति प्रभावित चैत महिनामा विकास खर्चमा व्यापक कमी आएको छ ।
सरकारले बजेटको अर्धवार्षिक समीक्षाबाट संशोधन गरेको लक्ष्य अनुसार फागुनयता हरेक महिना झण्डै ५० अर्ब रुपैयाँ विकास खर्च हुनुपर्ने थियो । तर, चैत महिनामा पौने नौ अर्ब रुपैयाँ विकास खर्च भएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चैत मसान्तसम्म कूल विकास खर्च एक खर्ब पाँच अर्ब २२ करोड ४५ हजार भएको छ । यो चालु आवमा विनियोजित विकास खर्चको २५.७९ प्रतिशत मात्र हो । फागुनमा विकास खर्च ९६ अर्ब ४८ करोड रुपैयाँ थियो । चैतमा मात्र आठ अर्ब ७४ करोड रुपैयाँ विकास खर्च भएको तथयांकले देखाएको छ ।
सरकारले २० चैतसम्म ठेक्का लागेकोबाहेक सरकारी निकायबाट हुने खरिद प्रक्रिया रोकेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारको सबै ध्यान कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा लगाउनु पर्ने भएकाले स्रोत साधनलाई सोहीतर्फ केन्द्रित गरिएको छ । सरकारले चालु आवमा कूल चार खर्ब आठ अर्ब रुपैयाँ विकास खर्च विनियोजन गरेकोमा अर्धवार्षिक समीक्षाले यसलाई तीन खर्ब २६ अर्ब ८१ अर्बमा झारेको थियो ।
विकासको मुख्य सिजनमै धक्का
नेपालमा फागुन मसान्तसम्म ठेक्का पट्टाको करिब सकिएर काम शुरु हुन्छ । विकास निर्माणको काम हुने सबभन्दा मुख्य समय चैत–असार हो । राष्ट्रिय योजना आयोगका सदस्य डा. सुशील भट्ट विकास खर्चको ठूलो हिस्सा यसै अवधीमा खर्च हुने बताउँछन् । ‘तर, यस वर्ष विकासको मूख्य समयमा नै धक्का लागेकोले चालु आवमा तोकिएका धेरै लक्ष्य अधुरो रहने देखियो’, उनी भन्छन्, ‘अहिले शुरु मात्र भएको कोरोना भाइरसले दूरगामी असर पार्ने भयो ।’
शीर्षक | फागुन मसान्त | चैत मसान्त | वृद्धि |
पूँजिगत खर्च | ९६ अर्ब ४८ करोड १२ लाख (२३.६५ प्रतिशत) | १ खर्ब ५ अर्ब २२ करोड ४५ लाख (२५.७९) | ८ अर्ब ७४ करोड ३३ लाख |
चालु खर्च | ४ खर्ब ५० अर्ब ७८ करोड ८६ लाख (४७.१० प्रतिशत) | ४ खर्ब ९५ अर्ब ३९ करोड ५४ लाख (५१.७६ प्रतिशत) | ४४ अर्ब ६० करोड ६८ लाख |
वित्तीय व्यवस्था | ६२ अर्ब ९७ करोड (३७.५२) | ७४ अर्ब २३ करोड ६५ लाख (४४.२३) | ११ अर्ब २५ करोड ९२ लाख |
चालु खर्च भने सन्तोषजनक रुपमै भइरहेको छ । महालेखाको तथ्यांकअनुसार चैतमा मात्र ४४ अर्ब ६० करोड ६८ लाख रुपैयाँ चालु खर्च भएको छ । सरकारले खर्च हुन नसक्ने देखिएका र चैतसम्म पनि ठेक्का नलागेका आयोजनाहरुको बजेट रकमान्तर गरेर कोरोना रोकथाम तथा त्यसले पारेको क्षति न्यूनीकरणमा लगाउने भएको छ । यसरी हुने खर्च चालु शीर्षकमा जान्छ ।
राजस्व संकलन अपेक्षाकृत
चालु आवको चैतसम्म सरकारले कूल पाँच खर्ब ९० अर्ब ६३ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । फागुन मसान्तसम्म पाँच खर्ब ४६ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । एक महिनाको अवधीमा ४३ अर्ब ९१ करोड ६४ लाख रुपैयाँ संकलन भएको छ । त्यसमध्ये चैत मसान्तको दिन मात्र १५ अर्ब १८ करोड २४ लाख रुपैयाँ संकलन भएको छ । यसमा एनसेलले मात्र १४ अर्ब ३३ करोड रुपैयाँ लाभकर बुझाएको छ ।
सरकारले चैतमा आवधिक कर बुझाउन नसके बैशाख मसान्तसम्म बुझाए हुनेगरी म्याद थप गरेको छ । सोहीकारण धेरैजसो व्यावसायीक घरानाले यो अवधिमा बुझाउनुपर्ने विभिन्न प्रकारका कर बुझाएका छैनन् । अनलाइनखबरबाट साभार गरिएकाे ।
प्रतिक्रिया