लकडाउनमा आलु रोप्‍ने चटारो

लकडाउनमा आलु रोप्‍ने चटारो

हिक्मतबहादुर नेपाली,

दैलेख वैशाख १६ गते । कोरोना भाइरसको जोखिमका कारण गरिएको लकडाउनले बजार क्षेत्र ठप्प छन्। तर, गाउँमा भने चहलपहल उस्तै छ। कोभिड–१९ को जोखिमबाट जोगिन समूहमा हुने क्रियाकलाप नगर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने सरकारी निर्देशन गाउँमा भने छोएको छैन्। भाइरसले विश्व आक्रान्त बनेको बेला दैलेखका किसानलाई भने अन्नबाली भित्र्याउने र रोप्ने चटारो छ। 

कर्णाली प्रदेशकै तरकारीको हव मानिने दैलेखको गुराँस गाउँपालिकाका किसानलाई आलु रोप्न भ्याई नभ्याई छ। यहाँका किसानहरु यति बेला आलु रोप्नमा व्यस्त देखिन्छन्। मल बोक्ने, जोतखन गर्न र आलुको बीउ लगाउनमै यहाँका किसानहरुको दिनचर्या बित्ने गरेको छ। अधिकांशको एक मात्र आम्दानीको माध्यम तरकारी खेती नै हो। गाउँपालिकामा अधिकांश नागरिकहरुले व्यवसायिक रुपमा आलु, काउली र अन्य तरकारी खेती गरिरहेका छन्। ‘यस बेला लगाएको आलु धेरै उत्पादन हुन्छ, सकेसम्म चैत्र बैशाखमै आलु लगाइसक्छौ,’ स्थानीय किसान तुलाराम जैसीले भने। आलु खेतीमा प्रांगारिक मल प्रयोग गर्ने गरेको उनले बताए। 

गुराँस गाउँपालिका कर्णाली प्रदेशको राजधानीसँग सिमाना जोडिएको छ। गाउँपालिकामा उत्पादन गरिएको तरकारीलाई बजारको अभाव छैन्। दैलेख आउँदा होस् या सुर्खेत नेपालगंज तथा काठमाडौं जाँदा यात्रुहरुले कोसेलीको रुपमा तरकारी लिएर जाने आउने प्रचलन जस्तै बनेको छ। उत्पादित तरकारी कर्णालीका केही जिल्ला र नेपालगंज तथा रुपडीयासम्म बिक्री वितरण गर्ने गरेको किसान धनसरा बिसीले बताइन्।

पछिल्लो दुई वर्षमा गुराँस गाउँपालिकाबाट झण्डै ४० करोडको तरकारी निर्यात भएको तथ्यांक छ। यस वर्ष तरकारी निर्यात बढ्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले वार्षीक दुईदेखि तीन लाखसम्मको तरकारी उत्पादन गर्ने करिब तीन सय किसानलाई व्यवसायिक कृषकको सूचीमा राखेको छ। तरकारी किसानलाई प्रोत्साहन गर्न गाउँपालिकालाई तरकारी खेतीका लागि अनुदान, प्रविधि तथा तालिम दिँदै आएको छ। गाउँपालिकाका विभिन्न वडामा ‘एक घर, एक सिचाईं पोखरी’ समेत निर्माण गरिएको छ।

आगामी दुई वर्षमा दुई हजार किसानलाई फर्मसहितको व्यवसायिक कृषिमा लगाई वार्षीक एक अर्ब बराबरको तरकारी निर्यात गर्ने गाउँपालिकाले लक्ष्य राखेको छ। तर, पछिल्लो वर्ष गुराँसे क्षेत्रमा कृषियोग्य जमिनको प्लटिङ बढेको छ। कृषियोग्य जमिनको प्लटिङ र घरघडेरीका लागि बिक्री वितरण रोक्नुपर्ने जानकारहरु बताउँछन्। 

प्रतिक्रिया