जुम्लामा कोरोना आशंकामा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ

जुम्लामा कोरोना आशंकामा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ

जुम्ला जेठ १० गते । जुम्लाको हिमा गाउँपालिकाका वडानम्बर २ ओदी गाउँका ३८ बर्षीय एक व्यक्तिको मृत्यु भएपछि कोरोना भाइरसको संक्रमणको आशंका गरिएपनि उनको रिपोर्ट नेगेटिभ आएको छ । 
जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार कोरोना भाइरसको संक्रमण आशंकाबाट मृत्यु भएको जानकारी आएपछि मृतकसहित दुई छोरी, एक छोरा र श्रीमतीको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षणमा परीक्षण गर्दा पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।‘गाउँमा भारतबाट आएका व्यक्तिहरु भएकाले कोरोना भाइरसको संक्रमणले मृत्यु भएको हो की भनेर आशंका गरिएको रहेछ । तर स्वाब परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएन’ सापकोटाको भनाइ छ ।

हिमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन रावतले मृतक सहित पाँचै जना घरपरिवारकै स्वाब पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि कालगतिले नै निधन भएको पुष्टि भएको जनाए ।

लकडाउन अवधिभर जुम्लामा भारत तथा तेस्रो मुलुकबाट ११ हजार ३८८ जना नागरिक भित्रिएका छन् ।जसमध्ये ५६ जना क्वारेन्टाइनमा बसेका छन् भने एक हजार २७७ जना १४ दिनपछि क्वारेन्टाइनबाट घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।जिल्लामा एक हजार ६०७ जनाको पिसिआर र २७० जनाको आरडिटी परीक्षण गर्दा सवै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया