अन्तरजातीय प्रेम गरेकै कारण युवाले ज्यान गुमाए

अन्तरजातीय प्रेम गरेकै कारण युवाले ज्यान गुमाए

घटनामा मृत्यु भएका भेरी नगरपालिका वडा नम्बर ४ रानागाउँका नवराज विक ।

जाजरकोट जेठ ११ गते । अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका एक युवाको हत्या भएपछि पश्चिम रुकुम चौरजहारी नगरपालिकाका वडाध्यक्षसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको हत्या भएपछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित पाँचजनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताए । उनका अनुसार घटनामा संलग्न अन्यलाई पनि नियन्त्रणमा लिने क्रम जारी छ।

भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँका २१ वर्षीय नवराज विककी प्रेमिका पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी १७ वर्षीय सुस्मा मल्ललाई बेहुलीको रुपमा भित्र्याउन शनिबार  १९ जना युवासहित गाउँ पुगेका बेलामा वडाध्यक्ष वीरबहादुर मल्लसहित सोतीका गाउँलेहरुले आक्रमण गरेर लखेट्दा नवराजको भेरी नदीमा खसेर मृत्यु भएको र अन्य ६ जना बेपत्ता भएको प्रहरी निरीक्षक विष्टले बताए । सुस्मालाई लिन नवराज सहितको युवाको समुह सोती पुगेपछि उनका आमाबुवाले गाउँलेलाई बोलाएर आक्रमण गरी लखेटेको प्रहरीले जनाएको  छ ।  पीडितपक्षले भने हत्या गरेर भेरीमा फालिदिएको दावी गरेका छन् ।
 
प्रहरी निरीक्षक विष्टले घटनापछि  जाजरकोटको भेरी नगरपालिका ४ का गणेश विक,  भेरी नगरपालिका ११ का  लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र  पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका टीकाराम सुनार बेपत्ता  भएको बताए । नवराजसहितको युवा समुहलाई  तल्लो जातको केटाले ठकुरीकी छोरी भगाउन खोजेको भन्दै आक्रमण गरी लखेटेको स्थानीयको भनाइ छ । तर माइती पक्षले भने केटीको उमेर नपुगेको र केटीले विवाहको लागि अस्वीकार गरे पनि जबरजस्ती लान खोज्दा विवाद भएको दावी गरेका छन् । घटनापछि प्रहरी सम्पर्कमा  गएका  १२ जनामध्ये भेरी नगरपालिका वडा नम्बर ४ का सुदीप खड्का गम्भीर घाइते भएको  प्रहरीले जनाएको छ । 
 
मृतक नवराजको  लास जाजरकोट र पश्चिम रुकुमको सिमाना रहेको धल्ला स्थित भेरी नदीको किनारामा भेटिएको प्रहरीले जनाएको छ । नवराजसँगै सोती पुगेका अन्य १२ जना इलाका प्रहरी कार्यालय चौरजहारीमा रहेको र उनीहरुसँग घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए  । घटनापछि बेपत्ता भएका  अन्य ६ जनाको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतकको सवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।
 
घटना जातीय विभेदका कारणले घटेको भए गम्भीर अपराध  ठहरिने  दलित अधिकारकर्मी बताउँछन् । केटा र केटीको मन मिले जातीय विभेदको नाउँमा कसैले पनि रोक्न नमिल्ने  तर उमेर  नपुगेको  र सहमती नभएको भए पनि भौतिक आक्रमण गरेर ज्यान लिने हर्कत अक्षम्य नहुने दलित अधिकारकर्मी वीरबहादुर विकको भनाइ छ । यस्तो घटनामा संलग्न जो कोहि भए पनि सजायको भागी हुनै पर्ने उनको भनाइ छ । अन्नपूर्ण पोस्ट्

प्रतिक्रिया