प्लास्टिक प्लेटको साटो दुना–टपरी

प्लास्टिक प्लेटको साटो दुना–टपरी

दुनाटपरी बनाउँदै युवाहरु ।

हिक्मतबहादुर नेपाली
दैलेख जेठ १२ गते ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलनबाट रोक्न मुलुकभर लकडाउनको नवौ सातामा छ । लकडाउनकैबीचमा भारतबाट फर्किनेको संख्या ह्वात्तै बढेको छ । साेमवारसम्म पाँच हजार बढि नागरिकहरु दैलेख भित्रिए । स्थानीय प्रशासन र स्थानीय तहहरु पूर्णतः भारतबाट आउनेको व्यवस्थापन कसरी गर्ने देखि कोरोना संक्रमण नियन्त्रण र रोकथाममा केन्द्रित छन् । भारतबाट आउने नागरिकहरुलाई सिधै क्वारेन्टाइनमा राख्ने गरिएको छ ।
क्वारेन्टाइनमा बसेकाहरु खानेपानी, शौचालय, आड्ने ओछ्याउने देखि खानपिनको पनि समस्या रहेको बताईरहेका छन् । जिल्लाका अधिकाँश क्वारेन्टाइनमा बसेकाहरुलाई खानपिनका लागि प्लास्टिक प्लेट प्रयोग गरिन्छ । क्वारेन्टाइन वरपर यत्रतत्र प्लास्टिक भेटिन्छन् । तर, दैलेखको भैरबी गाउँपालिकाले भने प्लास्टिक प्लेट होइन, दुना टपरी प्रयोगमा ल्याउन थालेको छ । त्यसका लागि दुना टपरी बनाउन सुरुवात गरिएको हो ।

दुनाटपरी बनाउँदै युवाहरु ।


भैरबी गाउँपालिका वडा नम्बर ४ स्थित समाज रुपान्तरण युवा कचहरीका युवाहरुले दुना टपरी बनाईरहेका छन् । कचहरीका सदस्य कृष्णा विकले युवाहरु मिलेर दुना टपरी बनाईरहेको बताइन् । आफुहरुले बनाएको दुना टपरी क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई खाना खुवाउनका लागि प्रयोग गरिने उनले बताइन् । ‘हामीले गाउँपालिकाको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको समन्वयमा दुना टपरी बनाउन सुरुवात गरेका हौ, उनले भनिन् ‘क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या र आवश्यकताका आधारमा दुना–टपरी उत्पादन गरिनेछ ।’
गाउँपालिका क्षेत्रमा सालका रुख प्रशस्त छन् । क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई खाना खुवाउन प्लास्टिकका प्लेटको साटो दुना–टपरी प्रयोग गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापाले बताए । गाउँपालिकाका विभिन्न स्थानका क्वारेन्टाइनमा पाँच सय बढि व्यक्तिहरु छन् । युवाहरुले स्वस्फुर्त रुपमा थालेको अभियानलाई गाउँपालिकाले सहयोग गरेको उनले बताए ।

प्रतिक्रिया