संघीय सरकारको बजेट ‘सुर्खेत–दैलेख सडकको स्तरोन्नति गरिने’

संघीय सरकारको बजेट ‘सुर्खेत–दैलेख सडकको स्तरोन्नति गरिने’

सुर्खेत जेठ १६ गते: संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कर्णालीमैत्री भएको प्रदेश सरकारले प्रतिक्रिया दिएको छ। संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार पेश गरेको बजेटले कर्णालीलाई सम्बोधन गरेको र धेरै आयोजनाका लागि बजेट विनियोजन भएको भन्दै प्रदेश सरकारले स्वागत गरेको हो। 

यसपालीको बजेटले कर्णालीमा स्वास्थ्य क्षेत्रको सुधार, प्रदेश राजधानी सुर्खेतमा ५० शैय्याको सरुवा रोग अस्पताल स्थापना, सुर्खेत मेडिकल कलेजको पूर्वाधार विकास, प्रदेश अस्पतालमा आइसीयु बेड थप, सुर्खेत विमानस्थललाई प्रादेशिक स्तरको बनाउन स्तरोन्नति गर्ने र हुम्लालाई आउँदो आर्थिक वर्षभित्र सडक संजालमा जोड्नेगरी सम्बोधन गरेको छ।

यस्तै सुर्खेतदेखि कोहलपुर जोड्ने सडकलाई स्तरोन्नति गरी चारलाइन बनाउने, कर्णाली राजमार्गको स्तरोन्नती, कर्णाली र भेरी करिडोरको स्तरोन्नति गर्नका लागि बजेट विनियोज गरिएको छ। कालिकोटको फुकोट र डोल्पाको जगदुल्ला जलविद्युत आयोजना संचालनका लागि पनि बजेट विनियोजन गरिएको छ भने दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन्का लागि पनि बजेटले सम्बोधन गरेको छ।

हुम्लाको यारीमा व्यापारिक केन्द्रको सम्भाव्यता अध्ययन एवम् सञ्चालन, प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा काँक्रेविहारको पुनर्निर्णाम सम्पन्न गर्ने, बहुमूल्य जडिबुटी प्रशोधन केन्द्र स्थापना, वीरेन्द्रनगरको खानेपानी समस्या समाधानका लागि खानेपानी आयोजना सञ्चालन, खाद्य गुणस्तर प्रयोगशाला स्थापना, कर्णालीमा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सुरु गर्न सक्नेगरी खेलकुदको पूर्वाधार विकास र सुर्खेतका बाढीपीडितका लागि सुरक्षित आवास निर्माणलाई पनि बजेट विनियोजन गरिएको छ। 

यस्तै सुर्खेतदेखि जुम्ला जोड्ने कर्णाली राजमार्गको स्तरोन्नती गर्दै नाग्म–गमगढी सडक खण्डमा विस्तार गर्ने, सुर्खेत–दैलेख सडकको स्तरोन्नति गर्ने, कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारातालको गुरुयोजना बनाउने, जुम्लालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने, भेरीबबई आयोजनाकोकार्यान्वयन, कर्णाली जडिबुटी विकास कार्यक्रम, सुर्खेतमा बहुमूल्य पत्थर प्रशोधन केन्द्र, सुर्खेतमा भण्डारण गृह र कर्णालीमा दुई वर्षभित्र आधुनिक उर्जाको पुहँचमा पुर्याउने कार्यक्रमहरु पनि बजेटमा समावेश गरिएका छन्।
 
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संघीय बजेटले कर्णालीलाई प्राथमितामा राखेको बताए। ‘आगामी आर्थिक वर्षको बजेटले कर्णाली प्रदेशलाई महत्वका साथ सम्बोधन गरेको छ’, मन्त्री ज्वालाले भने, ‘भेरी र कर्णाली करिडोरदेखि हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने योजनाहरु समेटिनु महत्वपूर्ण उपलब्धि हो।’ 
सुर्खेतमा प्रादेशिक विमानस्थल, सरुवा रोग अस्पताल र रारातालको दीर्घकालिन विकासका जस्ता महत्वपूर्ण योजनाहरु बजेटले समेटेको उल्लेख गर्दै उनले यसपटक संघीय सरकारले कर्णालीमैत्री बजेट ल्याएको भन्दै खुशी व्यक्त गरे। 

यस्तै सामाजिक विकास मन्त्री दल रावलले संघीय सरकारको बजेटले कर्णालीमा कोरोना नियन्त्रण र स्वास्थ्य क्षेत्रको पर्वाधारमा उल्लेख्य सम्बोधन गरेको भन्दै बजेट कर्णालीमैत्री भएको बताए।

प्रतिक्रिया