आफैँ आरडीटी किट किनेर कोरोना परीक्षण

आफैँ आरडीटी किट किनेर कोरोना परीक्षण

हिक्मतबहादुर नेपाली
दैलेख जेठ २१ :
जिल्लाको भैरबी गाउँपालिकाले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट किनेर कोरोना परीक्षण सुरु गरेको छ।  कोरोना भाइरस परीक्षणका लागि पीसीआर विधिबाट परीक्षण गर्न चाहिने भीटीएम (स्वाब राख्ने भाँडो) र कोरोनाको दु्रत परीक्षण र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट गाउँपालिका आफैँले खरिद गरेको हो। 

गाउँपालिकाले ७ सय भीटीएम र एक हजार दुई सय र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) खरिद गरेर कोरोना परीक्षण थालेको हो। जिल्ला स्वास्थ्य कार्यालयबाट किट उपलब्ध नभएपछि गाउँपालिकाले किट खरिद गरेको हो। झण्डै १४ लाख ८० हजारको लागतमा किट खरिद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापाले बताए। ल्याब असिस्टेन्ट नियुक्ती गरेर कोरोना भाइरसको परीक्षण गरिरहेको थापाले बताए। 

भारतको विभिन्न क्षेत्रबाट आएका नागरिकको परीक्षण गरिरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा मंगलबारसम्म एक हजार ४ सय १९ जना भित्रिएका छन्। ती मध्ये सबै गाउँपालिकाले निर्माण गरेको २२ वटा क्वारेन्टाइनमा बसिरहेका छन्। गाउँपालिकाले सामुदायिक विद्यालय, भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिरहेको छ।

हालसम्म ६ सय ४९ जनाको आरडीटी परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ। ती मध्ये चारको आरडीटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अनुसार पाँच जनाको स्वाब संकलन गरेर परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा पठाइएको छ। कोरोना संक्रमण हुन सक्ने आशंका गरिएका व्यक्तिलाई प्राथमिकता राखेर स्वाब संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत थापाले जनाए।  

‘भारतले बस र रेल सेवा सञ्चालन गरिसकेपछि गाउँपालिकामा फर्कने ह्वात्तै बढेका छन्,’ थापाले भने ‘उनीहरुलाई लक्षित गरी आवश्यक तयारी भइरहेको छ, आरडीटी परीक्षणमा एन्टीबडी नेगेटिभ देखिएकालाई सेल्फ क्वारेन्टाइनमा पठाउने तयारी गरेका छौँ।’   

प्रतिक्रिया