संक्रमित व्यवस्थापन गर्न समस्या

संक्रमित व्यवस्थापन गर्न समस्या

दैलेख सदरमुकामस्थित नारायण क्याम्पसमा रहेको क्वारेन्टाइन।

हिक्मतबहादुर नेपाली
दैलेख जेठ २६ गते ।

दैलेखमा कोरोना संक्रमितलाई व्यवस्थापन गर्न कठिन भएको छ। जिल्लामा आइतबार साँझसम्म संक्रमितको संख्या ३ सय ५७ पुगेको छ। एकाएक संक्रमितको संख्या बढ्न थालेपछि उनीहरूको उपचार र आइसोलेसन व्यवस्थापनमा समस्या भएको हो।

पछिल्लो तीन सातामा संक्रमितको संख्या ह्वात्तै बढेको छ। संक्रमितमध्ये नारायण नगरपालिकामा मात्रै एक सय ९४ जना छन्। महाबु गाउँपालिकामा एक सय आठ जना छन्। महाबु गाउँपालिकामा पाँचमहिने शिशुमा पनि संक्रमण देखिएको छ। गाउँपालिकाको वडा नम्बर १ र २ मा मात्रैै ७५ जना संक्रमित छन्। यस्तै, दुल्लुका ३९, आठबीसका एक, चामुण्डाविन्द्रासैनी नगरका १, गुराँसका दुई, डुंगेश्वरका तीन, भैरवीका २ र नौमूले गाउँपालिकाका सात जना छन्।

संक्रमित सबै भारतबाट फर्किएका हुन्। यो संख्या हालसम्म कर्णालीमा कोरोना पुष्टि भएकामध्ये ६० प्रतिशत हो। प्रदेशको संक्रमितको संख्या ६ सय ४१ छ। भारतमा रहेकाहरूलाई उद्धार गरेर ल्याई व्यवस्थित गर्न नसक्दा भयावह स्थिति सिर्जना भएको स्थानीय धर्मराज उपाध्यायको भनाइ छ। क्वारेन्टाइनमा कोचाकोच गरेर राख्दा र पीसीआर रिपोर्ट ढिला आउँदा संक्रमणले भयावह रुप लिन सक्ने उपाध्यायले बताए। विशेष गरी स्थानीय तहले क्वारेन्टाइन अभावमा कोचेर राखेका थिए।

जिल्ला प्रशासन कार्यालयले भारतबाट फर्किने दैलेखबासी ४२ हजार पुग्ने अमुमान गरेको छ। हालसम्म झण्डै ११ हजार आठ सय आईसकेका छन्। संक्रमित बढ्दै गएपछि अहिले थेग्नै मुस्किल भएको छ। संक्रमितको संख्या बढेसँगै उनीहरूको व्यवस्थापनमा कठिन भएको हो। विशेषगरी आइसोलेसनको अभाव छ। स्वास्थ्य सेवा कार्यालयका अनुसार ४० बेड क्षमताको आइसोलेसन छ। संक्रमितमध्ये ३४ जना दैलेख अस्पतालको आइसोलेसनमा छन्। अन्य संक्रमित स्थानीय तहमा छन्।

संक्रमितलाई राख्न स्थानीय तहले बनाएको क्वारेन्टाइनलाई आइसोलेसनको रुपमा प्रयोग गरिएको दैलेख अस्पतालका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए। ‘संक्रमितलाई चिकित्सकको मोबाइल टोलीले स्वास्थ्य अवस्थाबारे बुझिरहनुभएको छ,’ डा. पन्तले भने, ‘स्वास्थ्य अवस्था सामान्य छ, कुनै पनि लक्षण देखिएको छैन, आयुर्वेदिक औषधि चलाइरहेका छाँै।’ स्वास्थ्य सामग्री अभाव नभए पनि पीसीआर रिपोर्ट ढिला आउँदा समस्या भएको डा. पन्तले बताए।

जिल्लाभर ९ हजार ३ सय ३२ जना क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए। ‘भौतिक संरचना अभाव छ, सबैभन्दा धेरै समस्या पीसीआर रिपोर्ट ढिला आउनु हो,’ उनले भने। कर्णाली प्रदेशको सबैभन्दा बढी कोरोना संक्रमित देखिएको दैलेखमा प्रदेश र संघीय सरकारले बेवास्ता गरेको स्थानीय नागरिकको भनाइ छ। नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले कहालीलाग्दो अवस्थामा गुज्रिनुपरेको बताए। ‘कोरोना संक्रमितको व्यवस्थापनमा हम्मेहम्मे परेको छ,’ मेयर खड्काले भने, ‘आइसोलेसन र उपचारमा खटिने स्वास्थ्यकर्मीको अभाव छ, संक्रमितको संख्या बढ्न थालेपछि क्याम्पस र स्कुलको क्वारेन्टाइनलाई आइसोलेसनका रूपमा प्रयोग गरेका छौँ।’

प्रतिक्रिया