गर्भवती महिला सहित दैलेखका ४ जनाले जिते कोरोना

गर्भवती महिला सहित दैलेखका ४ जनाले जिते कोरोना

कोरोजा जितेकी महिला र बालकलाई विदाई गरिँदै ।

हिक्मतबहादुर नेपाली
दैलेख जेठ २६ गते ।
दुल्लुकी एक गर्भवती महिला सहित तीन जनाले कोरोना जितेकी छिन् । दुल्लु नगरपालिका –११ की ३३ बर्षीय गर्भवती महिलाले १० दिनमै कोरोना जितेकी हुन् । ती महिला सहित सोहि ठाउँका २ बर्षीय बालक र २२ बर्षीय महिलाले समेत कोरोना जितेको नगरप्रमुख घनश्याम भण्डारीले बताए । तीनै जनालाई सोमवार डिस्चार्ज गरिएको छ । कोरोना संक्रमण पोजेटिभ देखिएका तीनै जनालाई १० दिनपछि दोस्रो पटक पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।
नगरप्रमुख भण्डारीका अनुसार कोरोना पुष्टि भएको १० दिनमा उनिहरुमा संक्रमण निको भएको हो । उनिहरु भारतबाट आएका थिए । उनिहरुलाई दुल्लु नगरपालिका–६ को छिउडीपुसाकोट स्थित स्वास्थ्य चौकीमा नगरपालिकाले निर्माण गरेको कोरोना विशेष अस्प्तालमा राखेर उपचार गरिएको थियो । त्यहाँ ३० बेडको कोरोना विशेष अस्प्तालमा बनाईएको नगरप्रमुख भण्डारीले जनाए । स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार दुल्लु नगरपालिकामा ३९ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये ३ जना निको भएका हुन् । एक जनाको मृत्यु भईसकेको छ ।
दुल्लुका तीन जना सहित सोमवार दैलेखका ४ जनाले कोरोना जितेका छन् । दैलेख अस्पतालको आइसोलेसन बार्डमा उपचाररत डुङ्गेश्वर गाउँपालिकाकी २५ बर्षीय महिलालाई सोमवारै डिस्चार्ज गरिएको छ । उनले कोरोना संक्रमण पुष्टि भएको दुई सातामा कोरोना जितेकी हुन् ।

प्रतिक्रिया