दैलेखमा ६ महिनाको शिशु सहित थप ४८ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ४३४ पुग्यो, कुन स्थानीय तहमा कति संक्रमित ? (विवरण सहित)

दैलेखमा ६ महिनाको शिशु सहित थप ४८ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ४३४ पुग्यो, कुन स्थानीय तहमा कति संक्रमित ? (विवरण सहित)

हिक्मतबहादुर नेपाली
दैलेख जेठ २९ गते ।
दैलेखमा कोरोना संक्रमितको संख्या चार सय नाघेको छ । बिहीबार ६ महिने बालकसहित थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ३४ पुगेको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका एक वर्षीय बालकसहित ३९ जनामा कोरोना पुष्टि भएको हो । 

यस्तै भगवतीमाई गाउँपालिकाका छ महिने बालकसहित ९ जनामा कोरोना संक्रमण देखिएको छ । उक्त गाउँपालिकामा पहिलो पटक कोरोना देखिएको हो ।  स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ मा ११, ३ मा एक, ४ मा आठ, ५ मा एक र ६ मा १८ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै भगवतीमाई गाउँपालिका वडा नम्बर २ र ४ मा एक/एक जना र वडा नम्बर ७ मा सात जनामा संक्रमण देखिएको छ ।

कुन स्थानीय तहमा कति संक्रमित ?

यो सहित दैलेखका ११ स्थानीय तह मध्ये १० वटा स्थानीय तहहरुका नागरिकहरुमा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि भएका सबै भारतबाट आएका हुन् । संक्रमितमध्ये नारायणका एक सय ९४, दुल्लुका ३९, चामुण्डाविन्द्रासैनीका एक र आठबीस नगरपालिकाका दुई जना छन् । यस्तै डुङ्गेश्वरका ६७, महाबुका एक सय ८, भैरबीका दुई, गुराँसका दुई, भगवतीमाईका ९ र नौमूले गाउँपालिकाका १० जना छन् ।

मजदुरीका लागि भारत गएका नेपालीहरु फर्किएसँगै दैलेखमा कोरोना भाइरस संक्रमितको संख्या कर्णाली प्रदेशमै उच्च पुगेको छ । हरेक दिन नयाँ कोरोना संक्रमित थपिन थालेपछि दैलेख कर्णाली प्रदेशको कोरोना ‘इपीसेन्टर’ बन्दै गएको छ ।  कोरोना संक्रमण पुष्टि भएका चार सय ३४ जनामध्ये चारजना निको भएर घर फर्किएका छन् भने एकजनाको मृत्यु भएको छ । 

प्रतिक्रिया