‘कोरोना हटस्पट’ दैलेखमा ल्याईयो पीसीआर मेसिन

‘कोरोना हटस्पट’ दैलेखमा ल्याईयो पीसीआर मेसिन

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट पीसीआर मेसिन खरिद


हिक्मतबहादुर नेपाली
दैलेख असार ६ गते ।

कोरोना संक्रमणको हटस्पट मानिएको दैलेखमा कोरोना परीक्षणमा प्रयोग हुने पीसीआर मेसिन खरिद गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट मेसिन खरिद गरिएको हो । पीसीआर मेसिन नहुँदा दैलेखमा संकलन गरिएको स्वाब परिक्षणका लागि प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउनुपर्ने बाध्यता थियो ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि परीक्षणमा ढिलाई भएपछि मेसिन खरिद गरिएको प्रतिनीधि सभा सदस्य एवं स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन समितिका संयोजक रविन्द्रराज शर्माले बताए । ‘सुर्खेत र जुम्ला प्रयोगशालाको भर परेर रिपोर्ट आउन हप्तौ कुर्नुपर्दा संक्रमण थप फैलने खतरा बढेकाले जिल्लामै प्रयोगशाला स्थापना गर्ने निर्णयमा पुगेका हौँ,’ उनले भने, ‘जति सक्दो छिटो कोरोना परीक्षण प्रयोशाला सञ्चालनमा आउँछ ।’
प्रयोगशाला स्थापनाका लागि भवन निर्माणाधिन अवस्थामा छ । पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालय परिषरमा भवन निर्माण अन्तिम चरणमा पुगेको बताईएको छ । भवन निर्माण सकिए लगत्तै मेसिन जडान गरेर परीक्षण थालिने सांसद शर्माले बताए । मेसिन सहित अन्य उपकरण र स्वाब संकलनका लागि एक हजार किट शुक्रवार दैलेख आईपुगेको छ । प्रयोगशाला सञ्चालनका लागि ६ जनाको प्राविधिक टोली दैलेख आईसकेको सांसद शर्माले बताए ।
निर्वाचन क्षेत्र नम्बर १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगर्त दैलेख बजार– महाबु कालिकोट सडक खण्ड निर्माणका लागि ५ करोड ९४ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको थियो । सडक निर्माणका लागि नारायण नगरपालिकाबाट भएको टेन्डर प्रक्रियाबाट घटाघट हुँदा एक करोड ८ लाख, ८४ हजार ४ सय ४१ रुपैयाँ बचेको थियो । सोहि रकमबाट मेसिन खरिद गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल नेपालीका अनुसार झण्डै एक करोड ६ लाख लागतमा मेसिन खरिद गरिएको हो । मेसिन खरिदका लागि नारायण नगरपालिकाले गत जेठ २८ गते पाँच दिने टेन्डर आह्वान गरेको थियो । टेन्डर आह्वान भएको नवौ दिनमा पीसीआर मेसिन दैलेख आईपुगेको छ ।

प्रतिक्रिया