मनोबल बढाउन कर्णालीका क्वारेन्टाइनमै योगा र उत्प्रेरणा कक्षा

मनोबल बढाउन  कर्णालीका क्वारेन्टाइनमै योगा र उत्प्रेरणा कक्षा

दैलेख असार ८ गते । कर्णालीका क्वारेन्टाइनमा बसेकाहरुलाई शारीरिक तथा मानसिक रुपमा तन्दरुस्त राख्न विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना हुन थालेको छ। त्यसका लागि सरकारी तथा गैरसरकारी निकाय र युवाहरुले उत्प्रेरणा कक्षा, योगा, लाइभ कन्सर्ट तथा मनोपरामर्श सेवा प्रदान गरिरहेका छन् । 

कर्णाली प्रदेशमा सञ्चालित बालिका बचाउ अभियानले सुर्खेतका विभिन्न क्वारेन्टाइनमा उत्प्रेरणा कक्षा सञ्चालन गरिरहेको छ । क्वारेन्टाइनमा रहेकाहरुको आत्मबल र हौसला बढाउन तथा सकारात्मक सोच र तनाब व्यवस्थानका लागि उत्प्रेरणा कक्षा सञ्चालन गरिएको अभियानका संयोजक सजना सुनारले बताइन् ।

‘आइडीया नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा अभियान थालेका हौं, ‘संयोजक सुनारले भनिन् । नेपाल युवा परिषद् कर्णाली प्रदेश, ब्लूम्स ब्यान्ड, जेपर ब्यान्ड र बिक्रम साउण्डको समन्वयमा उत्प्रेरणा कक्षासँगसँगै लाइभ कन्सर्ट गरिरहेको संयोजक सुनारले जानकारी दिइन् । ‘क्वारेन्टाइनमा बसिरहनुभएका हरुमा समस्यै समस्या छन्,’ उनले भनिन्, ‘मनोबल उच्च बनाउन, मनोरञ्जन प्रदान गर्न तथा तनाव व्यवस्थापनका लागि हामीले स्वंयमसेवक रुपमा अभियान सञ्चालन गरिरहेका छौं ।’

यता दैलेखको दुल्लु नगरपालिकामा क्वारेन्टाइन आइसोलेसनमा उपचाररत कोरोना संक्रमितलाई योगा र मनोसामाजिक परामर्श सञ्चालन गरिएको छ । दुल्लुस्थित दोणाञ्चल क्याम्पस दुल्लुमा राखिएको कोरोनाका बिरामीको मनोपरामर्शसहित योगा सञ्चालन गरिएको हो । नगरपालिका र आर्युवेद औषधालयद्वारा मनोसामाजिक परामर्शसहित योगा सञ्चालन गरेको हो । रोगसँग लड्ने क्षमता बढाउन योगा र मानसिक तनाबबाट मुक्त रहन मनोपरामर्श सेवा प्रदान गरिएको नगरप्रमुख घनश्याम भण्डारीले बताए ।

संक्रमितलाई गुर्जो, अदुवालगायतका जडिबुटी दैनिकरुपमा सेवन गर्न सुझाएको नगरपालिकाले जनाएको छ। सामुदायिक र नीजि विद्यालय, सामुदायिक भवनमा बनाइएका क्वारेन्टाइन व्यवस्थित हुन सकेका छैनन्।मुलुक बाहिरबाट आएकाहरु डेक्स बेन्च जोडेर, भुँईमै पिफर्म बिच्छ्याएर बस्न विवश छन्।

प्रदेश र स्थानीय सरकारले कोरोनाविरुद्ध थालेको प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक अभियानमा करोडौं खर्चिए पनि कर्णालीका क्वारेन्टाइन व्यवस्थित बनाउन सकिएको छैन् । क्वारेन्टाइन व्यवस्थित नहुँदा क्वारेन्टाइनमा बसेका आन्दोलनमा उत्रिन थालेका छन् । क्वारेन्टाइन व्यवस्थापन राम्रो नभएको भन्दै क्वारेन्टाइन बसेकाहरु आन्दोलन गर्न बाध्य छन् ।

कतिपय क्वारेन्टाइनबाटै भाग्ने, जनप्रतिनिधि र कर्मचारीमाथि हातपातमा उत्रिने समेतका घटना बाहिरिएका छन् ।क्वारेन्टाइनमा सयौं नागरिकलाई एउटै कोठामा हुलेर राख्दा संक्रमणको थप जोखिम बढाएको जानकार बताउँछन् । 

प्रतिक्रिया