कोरोनासँग जुध्न ४३ लाखको स्वास्थ्य तथा खाद्यान्न सहयोग

कोरोनासँग जुध्न ४३ लाखको स्वास्थ्य तथा खाद्यान्न सहयोग

दैलेख असार १३ । कोरोना भाइरसको महामारीका क्रममा दैलेखका संघसंस्थाले सहयोगी हात अघि बढाएका छन् । कोरोनासँग जुध्न दैलेखका दश र अछामको एक स्थानीय तहमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले लाखौँ रुपैयाँ बराबरको स्वास्थ्य तथा खाद्यान्न सहयोग गरेको छ । डिसिए नेपालको आर्थिक सहयोगमा संस्थाले दैलेखका दुल्लु, आठबिस, नारायण, चामुण्डाविन्द्रासैनी नगरपालिका र नौमुले, महाबु, गुराँस, भगवतिमाई, ठाटिकाँध र भैरबी गाउँपालिका तथा अछामको पञ्चदेवल विनायक नगरपालिकामा सहयोग गरेको हो । 

४३ लाख १२ हजार ५ सय ३३ रुपैयाँ बराबरको स्वास्थ्य तथा खाद्यान्न सामग्री सहयोग गरिएको हो । स्थानीय तह, स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री र क्वारेन्टाइन व्यवस्थापनका लागि सामग्री सहयोग गरिएको हो । स्वास्थ्य सामग्रीहरु पीपीई, गम बुट, सर्जिकल मास्क, के एन ९५ मास्क, सेनिटाइजर, हात धुने साबुन, थर्मामिटर लगायतका सामग्री रहेको संस्थाका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए । स्थानीय तहको आवश्यकताका आधारमा सहयोग गरिएको श्रेष्ठको भनाइ छ । 

त्यस्तै स्थानीय तहमार्फत दैनिक ज्यालादारी गर्ने मजदुर, अति विपन्न र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई खाद्यान्न वितरण गरिएको छ । वादी समुदाय, एकल महिला, एचआईभी संक्रमित, अपांगता भएका व्यक्ति तथा अतिविपन्न परिवारलाई लक्षित गरेर खाद्य सामग्री स्थानीय तहमार्फत वितरण गरिएको श्रेष्ठले जनाए । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन गरेपछि दैनिक जीवन कष्टकर बनेका परिवारलाई चामल, तेल, नुन, दाल, चिनी, चियापत्ती लगाएतका खाद्यान्न सहयोग गरिएको हो । ती नागरिकलाई खाद्यान्नसहित स्वास्थ्य सामग्रीहरु साबुन, सरफ, मञ्जन, ब्रस, सेनेटरी प्याड समेत प्रदान गरिएको छ  । 

संस्थाद्वारा सहयोग सामग्री आवश्यकता अनुसार विभिन्न समुदाय, क्वारेन्टाइन स्थल, स्वास्थ्य संस्थाहरुमा वितरण गरिसकेको स्थानीय तहले जनाएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिकाका मेयर देवराज देवकोटाले महामारीसँग लड्न स्थानीय तहको एक्लो प्रयासले मात्रै नपुग्ने भएकाले गैरसरकारी संस्थाहरुले सहयोग गरेको बताए । ‘स्वास्थ्य सामग्रीको अभाव भइरहेका बेला विभिन्न निकायबाट यसरी सहयोग पाउँदा खुसी लागेको छ,’ मेयर देवकोटा भन्छन्, ‘दैनिकी कष्टकर बनेका ज्यालामजदुरी गरेर गुजारा गर्ने अतिविपन्न परिवारको खाद्यान्न सहयोग पाएका छन् ।’

प्रतिक्रिया