कर्णालीमा देखियो सलहको झुण्ड

कर्णालीमा देखियो सलहको झुण्ड

सुर्खेत असार १६ गते । कृषि बालीमा क्षति पुर्याउँदै आएको सलहको झुण्ड कर्णालीमा पहिलो पटक देखिएको छ । कर्णाली प्रदेशका अन्य क्षेत्रमा सलह देखिएको सार्वजनिक नहुँदै सलहबारे अध्ययन गर्ने निकाय कृषि अनुसन्धान केन्द्रमा नै पहिलो पटक सलह देखिएको छ ।

कृषि अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतमा मंगलवार सलह देखिएको केन्द्र प्रमुख बन्दुराज बरालले जानकारी दिए । ‘आज बिहान मात्रै हाम्रो अनुसन्धान केन्द्रमा सलह देखिएको छ । यो धेरै ठूलो समूहमा छैन । कतैबाट छुट्टिएर आएको सानो झुण्ड हो,’ उनले भने, ‘वरिपरिका किसानको बारीमा आएको हामीलाई खबर आइसकेको छैन । यो संख्यामा रहेको सलहले बालीनालीमा त्यति असर पार्दैन ।’

सलह ठूलो संख्यामा आएमा थाली र ड्रम बजाएर सलह भगाउने र आवश्यक परे विषादी पनि प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । ‘सानो बिउ भएको स्थानमा मान्छेले नै सलहलाई भगाउने र ठूलो स्थानमा आवश्यक परेको खण्डमा विषादी नै प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘अहिले नै आत्तिनुपर्ने अवस्था भने छैन तर सचेत भने बन्न आवश्यक छ ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरि पण्डितले पनि दशरथपुरमा सलह भेटिएको पुष्टि गरे । ‘त्यहाँ सानो झुण्डमा सलह देखिएको साँचो हो,’ उनले भने, ‘सलहबाट अन्नबालीमा हुने क्षति न्यूनीकरण गर्न पालिका, केन्द्र, निजी क्षेत्र र किसानसँग मिलेर अघि बढ्ने योजना बनाएका छौं ।’ लाेकान्तरबाट

प्रतिक्रिया